मोटर बीमा गराउनेको संख्यामा ह्वात्तै बृद्धि

चालु आर्थिक वर्ष २०८२र८३ को ११ महिना ९साउन(जेठ०मा मोटर बीमा गराउनेको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ । गत आवको जेठसम्मको तुलनामा चालु आवको सोही अवधिमा मोटर बीमा पोलिसी संख्या ७८ हजार १९ वटाले बढेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको जेठ मसान्तसम्म कुल १५ लाख १२ हजार ५६६ वटा मोटर बीमालेख ९पोलिसी० जारी भएका छन् । समीक्षा अवधिमा मोटर बीमा गराउनेको संख्या ५.४३ प्रतिशतले बढेको हो । गतवर्ष जेठसम्म कुल १४ लाख ३४ हजार ५४७ वटा मोटर बीमा पोलिसी जारी भएको थियो भने यसपाली उल्लेख्य सख्यामा वृद्धि भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । आन्दोलनका क्रममा साढे १२ हजार सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए । तर, सबै सवारीको बीमा नहुँदा करिब साढे २ हजार वटाले मात्र क्षतिपूर्ति दाबी गरेका थिए । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी केही सचेत भई बीमा गराउन थालेको बीमकहरू बताउँछन् । साथै, चालु आवमा नयाँ सवारी बिक्री बढ्दा पनि मोटर बीमालेख संख्या बढेको हो ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । कुल संख्यामध्ये कति कम्प्रिहेन्सिभ र कति थर्ड पार्टी भन्ने प्राधिकरणले खुलाएको छैन । यद्यपि, दुईतिहाई बढी हिस्सा थर्ड पार्टीको हुने बीमकहरू बताउँछन् ।

त्यसैगरी चालु आवमा मोटर बीमा पोलिसीको संख्या बढेसँगै प्रिमियम रकम पनि बढेको छ । चालु आवको ११ महिनामै सवारीधनीले आफ्नो साधन बीमा गर्नका लागि पौने १४ अर्ब रुपैयाँ खर्चिएका छन् ।

जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले मोटर बीमा बापत १३ अर्ब ७८ करोड ६८ लाख ९० हजार रुपैयाँ प्रिमियिम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ४ करोड १७ लाख रुपैयाँ धेरै हो । गत वर्ष ११ महिनामा मोटर बीमाबाट ११ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ प्रिमियम संकलन भएको थियो ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

हाल कम्पनीहरूले थर्ड पार्टी र कम्प्रिहेन्सिभ मोटर बीमा गर्छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यो बीमा गर्दा सवारीमा साधनमा क्षति पुने क्षतिपूर्ति पाइन्छ । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *