नाडा ५०औँ वर्षमा प्रवेश

काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरी स्वर्ण उत्सवको औपचारिक सुरुवात विभिन्न कार्यक्रमसहित गरेको छ।

काठमाडौंमा आयोजित उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नाडाका पूर्वअध्यक्ष अञ्जन श्रेष्ठ प्रमुख अतिथि थिए। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा अटोमोबाइल व्यवसायी, पूर्वअध्यक्ष, सदस्य कम्पनीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको नेतृत्वमा स्थापना भएको नाडाले स्वर्ण उत्सवलाई विशेष बनाउन दशरथ रंगशालादेखि दरबारमार्गस्थित होटल याक एन्ड यतिसम्म वाकाथन आयोजना गरेको थियो। कार्यक्रममा विशिष्ट व्यक्तित्व, नाडाका पदाधिकारी, सदस्य तथा पूर्वअध्यक्षहरू सहभागी भएका थिए।
स्वर्ण उत्सवको अवसरमा नाडाले संस्थाका पूर्वअध्यक्षहरूलाई सम्मान पनि गरेको छ। नाडाका अनुसार असार १३ गतेदेखि १९ गतेसम्म काठमाडौंसहित सातै प्रदेशमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।

स्थापनादेखि हालसम्म नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षले संस्थाको नेतृत्व गरिसकेका छन्। यस अवधिमा नाडाले ३६औँ संस्करणको नाडा अटोमोबाइल ट्रेड डाइरेक्ट्री, ५१औँ संस्करणको नाडा अटो न्युज र १८औँ संस्करणको नाडा अटो ड्राइभ क्यालेन्डर प्रकाशित गरेको छ। साथै आगामी भदौमा १८औँ संस्करणको नाडा अटो शो आयोजना गर्ने तयारी पनि भइरहेको छ।

नाडाले नेपाल उद्योग वाणिज्य महासंघबाट पटक–पटक उत्कृष्ट वस्तुगत संघको सम्मान प्राप्त गरेको छ। सन् २०१५ देखि आईएसओ ९००१:२०१५ (QMS) प्रमाणित संस्थाका रूपमा रहेको नाडाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय विपद्का समयमा पनि सहयोग गर्दै आएको जनाएको छ।

कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *