अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट

चर्किएको भू–राजनीतिक तनाव मत्थर भएसँगै पश्चिम एसियामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । इरान, इजरायल र अमेरिकाबीचको विवादका कारण केही साताअघि आकाशिएको तेलको मूल्य पुनः युद्ध सुरु हुनुभन्दा अगाडिकै सामान्य अवस्थामा फर्किएको हो ।

आपूर्ति अवरुद्ध हुने जोखिम कम भएपछि विश्वभरका इन्धन उपभोक्ता तथा आयातकर्ता देशहरूले ठूलो राहत महसुस गरेका छन् ।

बिहीबारको कारोबारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १।५५ प्रतिशतले ओरालो लागेर प्रतिव्यारेल ७२।६० अमेरिकी डलरमा झरेको छ । केही साताअघि मात्रै रणनीतिक मार्ग ’स्ट्रेट अफ होर्मुज’ प्रभावित हुने डरले यसको मूल्य प्रतिव्यारेल ९८ डलरसम्म पुगेको थियो ।

त्यस्तै, अमेरिकी डब्लूटीआई क्रुड १।२७ प्रतिशतले घटेर ६९।४५ डलरमा सीमित भएको छ । यता मर्बान क्रुडको मूल्यमा सबैभन्दा उच्च ४।५७ प्रतिशतको गिरावट आउँदै ६६।४५ डलर कायम भएको छ ।

नेपालले इन्धन आयात गर्ने मुख्य स्रोत अर्थात् भारतीय बास्केटको औसत मूल्य पनि घटेर ७५।२८ डलर प्रतिव्यारेल पुगेको छ भने ओपेक बास्केटको मूल्य ८०।२६ डलरमा सीमित भएको छ । विश्वको झन्डै २० प्रतिशत समुद्री तेल ओसारपसार हुने जलमार्ग सुरक्षित देखिएसँगै बजारमा छाएको त्रास हटेर मूल्य एकाएक ओरालो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *