जनरल मोटर्सले ५० रोबोट थप्दा हजारभन्दा बढी कर्मचारी प्रभावित

जनरल मोटर्सले उत्पादन लागत घटाउन र कार्यक्षमता बढाउन आफ्नो मिशिगनस्थित फ्याक्ट्री जिरो एसेम्बली प्लान्टमा ५० वटा नयाँ रोबोट तैनाथ गरेको छ। यसले १ हजार बढी कर्मचारीलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

रिपोर्टका अनुसार प्लान्टमा प्रयोग गरिएका यी रोबोटहरूलाई ‘कोबोट’ भनिन्छ। यी रोबोटहरू मानिससँगै उत्पादन लाइनमा काम गर्न डिजाइन गरिएका हुन्। विशेषगरी सवारीसाधनका बडी प्यानल जडान गर्ने जस्ता भारी तथा प्राविधिक काममा कोबोटले सहयोग गरिरहेका छन्, जसले उत्पादन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ।

कर्मचारी कटौतीको विषयमा जनरल मोटर्सले यी रोबोटहरू मानिसको जागिर खोस्न नभई उनीहरूको कामलाई सहज, सुरक्षित र प्रभावकारी बनाउन ल्याइएको जनाएको छ। कम्पनीले १ हजारभन्दा बढी कर्मचारीको कटौती अस्थायी रहेको दाबी गरे पनि उनीहरूलाई पुनः कहिले काममा फर्काइनेछ भन्नेबारे कुनै स्पष्ट जानकारी दिएको छैन। युनाइटेड अटो वर्कर्स श्रमिक युनियनले भने कम्पनीको यस्तो कदमको तीव्र विरोध गरेको छ।

कम्पनीले गत मे महिनामा पनि आफ्नो सूचना प्रविधि विभागबाट ६०० भन्दा बढी इन्जिनियरलाई हटाएको थियो । त्यस्तै, सन् २०२५ को अक्टोबरमा पनि २०० भन्दा बढी कम्प्युटर–सहायतायुक्त डिजाइन इन्जिनियरलाई सेवामुक्त गरिएको थियो।

जनरल मोटर्सको इलेक्ट्रिक सवारीसाधनको मागमा कमी आएका कारण पछिल्लो एक वर्षमा केही उत्पादन केन्द्रहरू बन्द गर्नुपरेको थियो । यद्यपि कम्पनीको आर्थिक अवस्था भने मजबुत नै देखिएको छ। कम्पनीले सन् २०२६ को पहिलो त्रैमासिकमा ४।२५ अर्ब अमेरिकी डलर नाफा कमाएको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *