प्री – बुकिङमै बिक्री हुन थाल्यो ईभी स्कुटर

काठमाडौं। केही महिनाअघि विद्युतीय सवारी (ईभी) स्कुटरमा ग्राहकको ध्यान जाँदैन थियो। सिमित ब्राण्डले आफ्नो लिगेसीलाई समात्दै केही थान स्कुटर बेचे पनि अधिकांश ईभी स्कुटर लामो समयदेखि स्टक हुने क्रम जारी थियो। तर, जब अमेरिका र इरानबीच युद्ध भएपछि इन्धनको मूल्यले आकाश छोयो, तब एकाएक ईभी स्कुटर किन्नेको भीड लाग्न थाल्यो।

राम्रो ब्राण्ड हुँदा हुँदै पनि महँगो भएको र विश्वासिलो नभएका कारण उपभोक्ताको रोजाईमा पार्न नसकिरहेको बेला पछिल्लो केही महिनायता ग्राहकलाई स्कुटर दिनसमेत हम्मेहम्मे अवस्था आएको हो।

पछिल्लो समय पेट्रोलियम मूल्य बढ्दा बजारमा ईभीप्रति ग्राहकको चासो बढेको कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठ बताउँछन्। ‘पेट्रोल भाउ बढ्दा ईभीप्रति चासो त बढ्छ, विगतको तुलनामा अहिले बिक्री बढेको छ,’ उनले भने, ‘अहिले सोधपुछ गर्न आउनेको संख्या बढेको छ, तर त्यो सबै बिक्रीमा परिणत हुन सकेको छैन।’ अझै पनि कति ग्राहक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ।

उनका अनुसार हाल ईभी बाइक तथा स्कुटरको बजारमा ग्राहकको आवागमन केही बढेको छ। गत वर्षको तुलनामा अहिले आयात तथा बिक्री निरन्तर बढेको छ।

हाल दुई पांग्रे ईभी बजारमा केही स्थापित ब्रान्डको स्पष्ट वर्चश्व देखिन्छ। यी ब्रान्डहरूले ग्राहकको विश्वास जित्दै बिक्रीलाई निरन्तर विस्तार गरिरहेका छन्। भन्सार विभागको तथ्यांक र बजारको वर्तमान अवस्थालाई हेर्दा दुई पांग्रे ईभीको आयातमा उल्लेख्य सुधार देखिएको छ। तर, नेपाली बजारमा सीमित र स्थापित ब्रान्डहरूले मात्रै मुख्य हिस्सा ओगटिरहँदा अन्य स्थापित हुन संघर्ष गरिरहेका ईभी ब्रान्डहरू भने आफ्नो व्यापार र बजार हिस्सा बढाउन आक्रामक रणनीतिमा उत्रिएका छन्।

बजारमा बलियो पकड जमाएका केही सीमित ब्रान्डको एकाधिकारलाई तोड्न र उपभोक्तालाई आफ्नो शोरूमसम्म आकर्षित गर्न धेरै कम्पनीहरूले विभिन्न खालका आकर्षक स्किम, नगद छुटका अफरहरू सार्वजनिक गरिरहेका छन्।

“अहिले ईभी ब्रान्ड मात्र नभएर इन्धन ब्रान्डले पनि आफ्नो व्यापार बढाउन अफरहरु सार्वजनिक गरिरहेका छन्।”

दुई वर्षसम्म ग्राहकलाई विश्वास दिलाउन समय लागेको भए पनि अहिले एथरप्रति पूर्ण विश्वास लिएर किन्नेहरुको संख्या बढेको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सूर्याशं वैद्यको भनाइ छ। दुई वर्षको बीचमा ग्राहकलाई दिइरहेको सुविधा, चार्जिङ स्टेनशनको उपलब्धता लगायतमा धेरै मेहनत गरेपछि अहिले सहज भएको उनले बताए। पछिल्लो समय एथरले स्कुटर बिक्रीमा राम्रो रेकर्ड राखिरहेको र सबैको रोजाई परिरहेको उनको दाबी छ।

इन्धनको मूल्य वृद्धिले अहिले धेरै ईभी स्कुटर प्रि-बुकिङमै बिक्री भइरहेको लुयान नेपालका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्मा बताउँछन्। ‘हाम्रो बिक्री अहिले दैनिक रुपमा भइरहेको छ। अहिले धेरै स्कुटर प्रि-बुकिङमै बिक्री भइरहेका छन्,’ उनले भने, ‘एक महिनापछि आउने स्कुटर पनि ग्राहकले अहिले बुकिङ गरिसकेका छन्।’ पहिलेजस्तो आयात गर्ने परिमाणले माग धान्न नसकेको उनको भनाइ छ।

उनका अनुसार स्टक पूरै सकिएको भने होइन, तर पहिलेजस्तो प्रशस्त स्टक छैन। केही मोडल तत्काल उपलब्ध छन् भने केही मोडलका लागि ग्राहकले बुकिङ गरेर पर्खिनुपर्ने अवस्था छ। अहिले ईभीको सेल्स अलिकति होइन, एकदमै बढेको छ।

‘जसरी कोभिडको समयमा मानिसहरू अनलाइनबाट काम गर्न अभ्यस्त भएका थिए, त्यसैगरी अहिले मध्यपूर्वको युद्धका कारण पेट्रोलको मूल्य बढ्यो, ग्यासको अभावको अवस्था पनि आयो,’ शर्मा भन्छन्, ‘पेट्रोलको मूल्य वृद्धि र भोलि गएर अभाव हुन्छ कि भन्ने आशंकाले पनि मानिसहरू ईभीतर्फ आकर्षित भएका छन्। त्यसमाथि टीभीएस बजाजजस्ता पेट्रोलका स्थापित कम्पनीहरूले पनि ईभी बजारमा प्रवेश गरेपछि अब ईभीकै समय आयो भन्ने विश्वास उपभोक्तामा बढेको छ।’ विगतको तुलनामा अहिले ईभी स्कुटरको माग धान्न हम्मे हम्मे परेको उनको भनाइ छ।

बजार हिस्सा सुधार्न आकर्षक ‘अफर’ 

अहिले नेपाली बजारमा याडिया, एथर, निउलगायत ईभी स्कुटरको वर्चश्व रहेको छ। यी ब्रान्डहरुको दबदबा कायम रहे पनि अन्य ईभी ब्रान्डहरूले आफ्नो हिस्सा बढाउन आक्रामक रणनीति अपनाउन थालेका छन्। ग्राहक आकर्षित गर्न नगद छुट, शून्य वा न्यून डाउन पेमेन्ट, सहज किस्ता सुविधा, एक्सचेन्ज बोनस, निःशुल्क बीमा, निःशुल्क सर्भिस तथा विभिन्न उपहार योजनासहितका आकर्षक अफर सार्वजनिक गरिरहेका छन्।

अहिले ईभी ब्रान्ड मात्र नभएर इन्धन ब्रान्डले पनि आफ्नो व्यापार बढाउन अफरहरु सार्वजनिक गरिरहेका छन्।

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पले आफ्नो व्यापार बढाउनको लागि ‘मनसुन एक्सचेन्ज फेस्ट’ आयोजना गरेको छ। १० दिनसम्म संचालन हुने यस अफरअन्तर्गत ग्राहकले कुनै पनि दुईपांग्रे सवारी साटेर नयाँ भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्दा न्यूनतम ४० हजार रुपैयाँसम्मको मूल्यांकन पाउने कम्पनीले जनाएको छ।

भेस्पा वा अप्रिलिया कुनैपनि ब्रान्डको पुरानो स्कुटर नयाँ मोडलसँग एक्सचेन्ज गर्दा अतिरिक्त १२ हजार ५०० रुपैयाँ र अन्य ब्रान्डको दुईपांग्रे सवारी ल्याएर एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्यांकन पाउने छन्। एक्सचेन्जबाट पाउने छुटको अलावा हरेक स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट रेनकोट, हेल्मेट तथा फुटम्याटजस्ता सामग्री निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

त्यसैगरी अग्नी ग्रुपअन्तर्गतको दुई पाङ्ग्रे सवारी वितरक कम्पनी अग्नी मोटोइन्कले शून्य प्रतिशत ब्याजमा स्कुटर खरिद गर्न सकिने सुविधा ल्याएको छ। कम्पनीका अनुसार ग्राहकले बीजी ब्राण्डका आरयूभी ३५० आइइएक्स, आरयूभी ३५० म्याक्स, सी १२ आइइएक्स र सी १२ म्याक्स ३.० मोडलका स्कुटर शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन्।

ग्राहकले यो सुविधामा स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ। बाँकी रकम २ वर्षभित्र किस्ताबन्दीमा तिर्नुपर्ने छ। यसमा कुनै ब्याज र अन्य शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका लागि टीभीएसको ‘अल न्यु टीभीएस जुपिटर बीएस६’ स्कुटर खरिद गर्दा ९ महिनासम्म निःशुल्क पेट्रोल सुविधा पाउने योजना सार्वजनिक गरेको छ।

“नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने विशेष अफर ल्याएको छ।”

कम्पनीका अनुसार उक्त स्कुटरले ६० किलोमिटर प्रतिलिटरसम्मको परीक्षण गरिएको माइलेज दिने भएकाले दैनिक प्रयोगका लागि किफायती विकल्प बन्ने विश्वास लिइएको छ। यससँगै ग्राहकको सहज पहुँचका लागि मासिक किस्ता (इएमआई) सुविधा पनि उपलब्ध गराइएको छ। जसअन्तर्गत केवल २,८९९ रुपैयाँ प्रतिमहिनाबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘हामीले सधैँ नेपाली ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै भरपर्दो र किफायती मोबिलिटी समाधान ल्याउँदै आएका छौँ। बढ्दो पेट्रोल खर्चका बीच जुपिटरले उत्कृष्ट माइलेज र सहज फाइनान्सिङमार्फत ग्राहकलाई राहत दिनेछ।’

नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर शून्य प्रतिशत ब्याजदरमै किन्न सकिने विशेष अफर ल्याएको छ। कम्पनीका अनुसार ग्राहकले सुजुकी ब्राण्डको जिक्सर १५५ मोटरसाइकल तथा स्कुटरअन्तर्गत एक्सेस, एभीनिस र बर्गम्यान मोडल शून्य प्रतिशत ब्याजदर फाइनान्स सुविधामा खरिद गर्न सक्ने छन्।

ग्राहकले यो सुविधामा जिक्सर र अन्य तीनमध्ये कुनै स्कुरट खरिद गर्न सुरूमा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने छ। बाँकी रकम १ वर्षभित्र किस्ताबन्दीमा तिर्नुपर्ने छ। यसमा कुनै ब्याज र अन्य फाइनान्स शुल्क तिर्नुनपर्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *