भारतीय दुईपाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्प (Hero MotoCorp) ले आफ्नो लोकप्रिय बाइकको नयाँ संस्करण ‘सुपर स्प्लेंडर एक्सटेक २.०’ (Super Splendor XTEC 2.0) भारतमा सार्वजनिक गरेको छ।
आकर्षक लुक्स, अत्याधुनिक फिचर्स र उत्कृष्ट माइलेजका साथ आएको यस बाइकको एक्स-शोरूम मूल्य ८६,५०० भारतीय रुपैयाँ तोकिएको छ।
अधिक माइलेज र शान्त इन्जिन: यस बाइकमा १२४.७ सीसी (cc) को सिंगल-सिलिन्डर इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.६ एनएम टर्क दिन्छ। ट्राफिकमा इन्जिन स्वतः बन्द र अन हुने ‘आइडल स्टार्ट-स्टप’ (i3S) प्रविधिका कारण यसले प्रतिलिटर ७२ किलोमिटरको उत्कृष्ट माइलेज दिने कम्पनीको दाबी छ। साथै, ‘इन्टिग्रेटेड स्टार्टर जेनेरेटर’ (ISG) का कारण बाइक स्टार्ट गर्दा कत्ति पनि आवाज आउँदैन।
डिजिटल क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी: बाइकमा पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ, जसलाई ब्लुटुथमार्फत फोनसँग जोड्न सकिन्छ। यसमा कल/एसएमएस अलर्ट, कलर आईडी, फोनको ब्याट्री स्टेटस, रियल-टाइम माइलेज र कम इन्धन भएको जानकारी (Low Fuel Indicator) देखिन्छ। फोन चार्ज गर्नका लागि यसमा यूएसबी टाइप-सी (Type-C) पोर्ट समेत राखिएको छ।
थप सुरक्षित फिचर्स: सुरक्षालाई ध्यानमा राख्दै हिरोले यसमा ह्यागार्ड लाइट (चारवटै इन्डिकेटर एकैचोटि बल्ने), अगाडि डिस्क ब्रेक र ह्यान्डलबारमै इन्जिन बन्द गर्ने ‘इन्जिन किल स्विच’ थपेको छ।
नयाँ लुक्स र रङको विकल्प: बाइकलाई नयाँ ड्युअल-टोन ग्राफिक्स, एक्सटेक २.० ब्याजिङ, ह्विल रिम टेप र आकर्षक स्टिच गरिएको प्रिमियम सिट दिइएको छ। यो बाइक ग्लसी ब्याल्क, क्यान्डी ब्लेजिङ रेड, म्याट एक्सिस ग्रे, म्याट नेक्सस ब्लु र म्याट चेस्टनट ब्राउन गरी ५ वटा नयाँ रङमा उपलब्ध छ।
नेपाली बजारमा समेत निकै रुचाइएको १२५ सीसी सेगमेन्टको यो बाइक नयाँ प्रविधि र धेरै माइलेज खोज्ने ग्राहकहरूका लागि उत्कृष्ट विकल्प बन्ने देखिएको छ।