१६ ठूला आयोजनाको ईआईए सार्वजनिक

वन तथा वातावरण मन्त्रालयले पछिल्लो ६ महिनामा ३ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी लगानी अनुमान गरिएका १६ वटा ठूला आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन (EIA) रिपोर्ट सर्वसाधारणको राय सुझावका लागि सार्वजनिक गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेका परियोजनाहरूमा जलविद्युत्, सडक, तारे होटल, केबलकार, स्टील तथा कागज उद्योग, सरकारी भवन र विश्वविद्यालयका भौतिक संरचनाहरू रहेका छन्, जसमा कतिपय नयाँ आयोजना छन् भने कतिपय पुरानाको क्षमता विस्तार गर्न लागिएको हो।

यस सूचीमा २ खर्ब २५ अर्बको ६ सय ४० मेगावाट क्षमताको कालीगण्डकी जलाशययुक्त आयोजना, ५५ अर्ब लागतको विश्वकै सबैभन्दा लामो (८१.०४१ किमि) मुक्तिनाथ केबलकार र ५४ अर्ब २९ करोडको पथलैया-नारायणघाट सडक विस्तार आयोजना जस्ता बहुप्रतिक्षित ठूला परियोजनाहरू समावेश छन्।

उद्योग तथा सेवा क्षेत्रतर्फ पर्सामा ५ अर्ब ५० करोडको प्राइम स्टील, रुपन्देहीमा ३ अर्ब ८१ करोडको लुम्बिनी क्यान्सर अस्पताल, विराटनगरमा २ अर्ब ४३ करोडको पाँच तारे होटल किङसवरी र कास्कीमा ६ अर्ब ६३ करोडको पोखरा विश्वविद्यालयको भौतिक संरचना निर्माण सम्बन्धी रिपोर्ट सार्वजनिक गरिएको छ।

यसका साथै ३ अर्ब ४ करोड लागतमा काठमाडौँ रामशाहपथमा १२ तले उपत्यका ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गर्ने तथा नारायणी इस्पात, मारुती पेपर र गणपति प्लाइवुड जस्ता सञ्चालित उद्योगहरूको अर्बौँको लगानी थपेर क्षमता विस्तार गर्ने योजना प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *