अमेरिकाको अर्थ मन्त्रालयले रुसी तेलमाथि लगाइएको प्रतिबन्धमा दिइएको अस्थायी छुटको अवधि समाप्त भएको घोषणा गरेको छ।
शनिबारदेखि लागू भएको यो नयाँ निर्णयका कारण विश्व बजारमा तेल आपूर्ति घट्ने र इन्धनको मूल्य अझै बढ्न सक्ने चिन्ता सुरु भएको छ।
केही साताअघि अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ होर्मुज’ बन्द भएको थियो।
त्यसबेला विश्व ऊर्जा बजारमा देखिएको गम्भीर तेल संकट टार्न ट्रम्प प्रशासनले समुद्रमा रोकिएका रुसी कच्चा तेलका कार्गोहरू खरिद गर्न अस्थायी अनुमति दिएको थियो।
यो छुटको फाइदा उठाउँदै भारतले रुसी तेलको आयात इतिहासकै सबैभन्दा धेरै (दैनिक २३ लाख ब्यारेल) पुर्याएको थियो।
तर अब छुट सकिएकाले भारत जस्ता ठूला तेल आयातकर्ता देशहरूले अन्य वैकल्पिक स्रोतहरू खोज्नुपर्ने बाध्यता आएको छ।
ऊर्जा विश्लेषकहरूका अनुसार यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यलाई प्रतिब्यारेल १०० डलरभन्दा माथि नै राख्न दबाब दिनेछ।
यसको असर अमेरिकी बजारमा पनि देखिन थालिसकेको छ, जहाँ पेट्रोलको औसत मूल्य प्रतिग्यालोन ४ डलर ५ सेन्ट पुगिसकेको छ।
प्रतिबन्ध फेरि कडा पारिएपछि विश्वभर नै इन्धन महँगो हुन सक्ने विज्ञहरूको अनुमान छ।