बीवाईडीको सफलता र नेपालमा प्रभाव

चिनियाँ अटोमोबाइल जायन्ट बीवाईडीले चीनस्थित आफ्नो कारखानाबाट हरेक ५९ सेकेन्डमा एउटा नयाँ कार उत्पादन गरेर विश्वलाई नै अचम्ममा पारेको छ।

मानिसले एक कप चिया पिउने समय (करिब ५ मिनेट) मा यो कम्पनीले ५ वटा अत्याधुनिक विद्युतीय गाडी (ईभी) तयार पारिसक्छ।

चीनको झेङझोउमा रहेको २५ वर्ग किलोमिटर ठूलो यस कारखानामा ९८ प्रतिशत काम १ हजार ५०० भन्दा बढी अत्याधुनिक रोबोटहरूले गर्छन् भने मानिसले केवल २ प्रतिशत प्रणाली अनुगमन मात्र गर्छन्।

कुनै समय ‘मेड इन चाइना’ सामानलाई सस्तो र कम टिकाउ मानिने गरिए पनि अहिले विश्व अटोमोबाइल बजारको नेतृत्व चीन र विशेष गरी बीवाईडीको हातमा पुगेको छ।

कम्पनीसँग विश्वमै सबैभन्दा ठूलो अर्थात् १ लाख २० हजारभन्दा बढी इन्जिनियर र वैज्ञानिकहरूको टोली छ।

बीवाईडीले गाडीका पार्टपुर्जाहरू बाहिरबाट किन्नुको सट्टा ब्याट्री, मोटर, चिप्स र सफ्टवेयर आफ्नै कारखानाभित्र आफैँ विकास (भर्टिकल इन्टिग्रेसन) गर्ने भएकाले आपूर्ति शृङ्खलामा समस्या आउँदा पनि यसको उत्पादन रोकिँदैन।

कम्पनीले आफ्ना लक्जरी ब्रान्ड र अन्य गाडीहरूको गुणस्तर परीक्षण गर्न आफ्नै अन्तर्राष्ट्रिय स्तरको ‘मोटरस्पोर्ट्स रेस ट्र्याक’ समेत निर्माण गरेको छ।

वित्तीय रूपमा पनि बीवाईडीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गर्दै अमेरिकी प्रतिस्पर्धी टेस्लाको आम्दानीलाई समेत उछिनेको छ।

सन् २०२५ को पहिलो त्रैमासिकमा पनि कम्पनीको मुनाफा र सेयर मूल्यले नयाँ उचाइ चुमेको छ।

सन् २०२२ देखि नै पूर्ण रूपमा पेट्रोल–डिजेल गाडीको उत्पादन बन्द गरेको बीवाईडीले चीनलाई हरित र उच्च प्रविधिको अर्थतन्त्रमा बदल्न ठूलो योगदान दिएको छ।

नेपाली बजारमा पनि विद्युतीय सवारीसाधन प्रयोग गर्ने करिब ८० प्रतिशत उपभोक्ताले बीवाईडीका गाडी चढ्ने गरेका छन्।

बीवाईडीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुएलियाङले नेपालमा आफ्नो ‘नम्बर वान’ स्थान कायमै राख्ने र नेपाली बजार सुहाउँदा नयाँ मोडलहरू भित्र्याउने लक्ष्य रहेको बताएका छन्।

नेपालमा खनिज इन्धनको परनिर्भरता घट्दै गए पनि यो प्रविधिलाई पूर्ण रूपमा सदुपयोग गर्न नेपालले आफ्नो विद्युत् प्रसारण लाइन र चार्जिङ पूर्वाधारलाई अत्याधुनिक बनाउनुपर्ने चुनौती छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *