लामो समयदेखि अलपत्र परेको नारायणघाट-बुटवल सडक विस्तारको काम ९१ प्रतिशत सकिएर अहिले अन्तिम चरणमा पुगेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सडकका मुख्य कामहरू सञ्चालन भइसकेका छन् भने अब फिनिसिङ, ट्राफिक सेफ्टी र सर्भिस लेन बनाउने जस्ता सहायक कामहरू मात्र बाँकी छन्।
यसपटकको वर्षामा यात्रुहरूले दाउन्ने क्षेत्रमा पहिले जस्तो हिलो र जामको सास्ती खेप्नुपर्ने छैन।
दाउन्नेमा दुई लेनको सडक बनिसकेको र तेस्रो लेनको काम तीव्र गतिमा भइरहेकाले जेठ १५ गतेभित्र मुख्य कामहरू सक्ने लक्ष्य राखिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहितको टोलीले गरेको स्थलगत अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिन (पिच गर्ने अलकत्रा) को अभाव रहेको भन्दै सरकारसँग सहजीकरणको माग गरेका छन्।