चिनियाँ विद्युतीय सवारी कम्पनी बीवाईडीको नेपालका लागि बिक्रेता साइमेक्स इंकले रसुवा भन्सार कार्यालयको मिलेमतोमा करोडौँ राजस्व छली गरेको पाइएको छ।
निश्चित समयभित्र फिर्ता लैजाने सर्तमा धरौटीमा ल्याइएको सामान अवधि सकिएपछि जफत गर्नुपर्ने कानूनी व्यवस्था भए पनि भन्सार कार्यालयले गुपचुप रूपमा फिर्ता लैजान दिएको हो।
यस प्रक्रियामा भन्सार ऐनको उल्लंघन गर्दै राज्यलाई प्राप्त हुनुपर्ने १ करोड ६६ लाख २५ हजार रुपैयाँभन्दा बढी राजस्व गुमेको तथ्याङ्कले देखाउँछ।
कानून अनुसार तोकिएको समयमा सामान फिर्ता नगरेमा उक्त वस्तु जफत गरी धरौटी रकम राजस्वमा जम्मा गर्नुपर्ने हुन्छ, तर रसुवा भन्सारका कर्मचारीले त्यसो नगरी कम्पनीलाई लाभ पुर्याएका छन्।
साइमेक्स इंकले यसअघि पनि धरौटीमा ल्याएका ५ वटा सिलायन सेभेन कारहरू फिर्ता नलगी बिक्री तथा दर्ता गरेर कानूनी प्रावधानको उल्लंघन गरेको विषय बाहिर आएको थियो।
यस गम्भीर लापरबाहीमा संलग्न भन्सार अधिकारी र साइमेक्स इंक दुवैलाई जिम्मेवार ठहर्याउँदै कारबाही र राजस्व असुली गर्नुपर्ने माग उठेको छ।