चितवनको भरतपुरस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ‘चितवन अटो शो २०२६’ को दोस्रो संस्करण सुरु भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले एक विशेष समारोहका बीच यस मेलाको उद्घाटन गर्नुभएको हो।
मुख्यमन्त्री बानियाँले अटो व्यवसायीका समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्ने र प्रदर्शनीका लागि प्रदेश सरकारले बजेट नै छुट्याउने प्रतिबद्धता जनाउनुभयो।
मेलामा नयाँ मोडलका गाडी, विद्युतीय सवारी (EV), स्पेयर पार्ट्स र लुब्रिकेन्ट्सका साथै बैंकिङ फाइनान्सको सुविधा एकै ठाउँमा उपलब्ध छ।
अटो शो अन्तर्गत विज्ञहरूद्वारा ‘अटो सेमिनार’ र विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण तथा सचेतना कार्यक्रम पनि आयोजना गरिनेछ।
५ दिनसम्म चल्ने यस मेलामा करिब १० हजार दर्शकले अवलोकन गर्ने र ५० करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य राखिएको छ।
सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउन र नयाँ प्रविधिबारे उपभोक्तालाई जानकारी दिन यो मेला महत्वपूर्ण हुने विश्वास आयोजकको छ।