धवलागिरि गाउँपालिका–१ को दुर्गम गुर्जा गाउँ अब सडक सञ्जालसँग जोडिएको छ। यससँगै म्याग्दीका सबै ४५ वडामा सडक पुगेको छ।
लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत कानबराहसम्म सडक ट्र्याक खुलेपछि पहिलोपटक जिप गाउँ नजिक पुगेको वडाध्यक्षले जानकारी दिएका छन्।
यसअघि लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक बनेको थियो भने चालु वर्ष थप करिब ४ किलोमिटर ट्र्याक खोलिएको छ।

अब थप एक किलोमिटर सडक बनाएर एक हप्ताभित्रै गुर्जा गाउँसम्म गाडी पुर्याउने तयारी भइरहेको छ।
यो योजना २०७९/८० बाट सुरु भएको गाउँपालिकाको प्राथमिक परियोजना हो, जसका लागि चालु वर्षमा १ करोड ७० लाख बजेट छुट्याइएको छ।
पहिले गुर्जाबाट लुलाङ पुग्न दिनभर पैदल हिँड्नुपर्ने अवस्था थियो भने अहिले गाडी पुग्ने स्थानबाट ५ मिनेट हिँडेर गाउँ पुग्न सकिन्छ।
सडक खुलेपछि मुना २ घण्टा ३० मिनेट, बेनी ५ घण्टा र पोखरा ७ घण्टामा पुग्न सकिने भएको छ।
यसले बिरामीलाई अस्पताल लैजान, कृषि तथा जडीबुटी बजारसम्म पुर्याउन र पर्यटन बढाउन सहज बनाएको छ।
सडक स्तरोन्नति, नाला निर्माण र विस्तारका लागि थप बजेट छुट्याइएको छ भने पुल निर्माणको काम पनि अघि बढिरहेको छ।
गुर्जामा छन्त्याल र दलित समुदायको बसोबास रहेको छ, जहाँ करिब २६५ घरधुरी र १५०५ जनसंख्या रहेको छ।
Post Views: 56