वीरगन्जबाट ईभी आयात बढ्यो

चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाबाट करिब १ अर्ब ४८ करोड मूल्यका ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। यसबाट करिब ९६ करोड राजस्व संकलन भएको छ।

गत वर्षको सोही अवधिमा भने ४३ करोड मूल्यका १६५ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए र ३५ करोड राजस्व उठेको थियो।

यस आधारमा हेर्दा यस वर्ष विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको भन्सार कार्यालयले जनाएको छ।

त्यस्तै, चालु वर्षमा करिब ८० करोड मूल्यका १,१२८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् भने गत वर्ष सोही अवधिमा ४४ करोडका ३,३७४ वटा आयात भएका थिए।

इन्धनबाट चल्ने जिप, कार र भ्यान भने यस वर्ष १ अर्ब १६ करोड मूल्यका ६०९ वटा आयात भएका छन्, जसबाट २ अर्ब ८६ करोड राजस्व संकलन भएको छ।

गत वर्ष सोही अवधिमा १ अर्ब ५० करोड मूल्यका ७४८ वटा यस्ता सवारी आयात भएका थिए र ३ अर्ब ७३ करोड राजस्व उठेको थियो।

समग्रमा चालु वर्षको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्।

गत वर्ष सोही अवधिमा १७ अर्ब १५ करोड मूल्यका सवारी आयात हुँदा १३ अर्ब २६ करोड राजस्व संकलन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *