काठमाडौँ – ललितपुरस्थित नेपाल मेडिसिटी र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच स्वास्थ्य सेवा सहकार्यलाई निरन्तरता दिँदै पुरानो सम्झौता नवीकरण गरिएको छ।
नयाँ सम्झौताअनुसार महासंघअन्तर्गतका बिरामीलाई मेडिसिटीले प्राथमिकताका साथ उपचार सेवा उपलब्ध गराउनेछ।
आकस्मिक अवस्थामा बिरामी आउनुअघि जानकारी दिनुपर्ने र ४८ घण्टाभित्र आधिकारिक पत्र पठाउनुपर्ने व्यवस्था कायम छ।
दुर्घटनामा परेका बिरामीलाई सामान्य वार्डमा प्राथमिकता दिइनेछ भने क्याबिन सेवा आवश्यक परे लिखित अनुरोध अनिवार्य हुनेछ।
साथै, महासंघका प्रतिनिधिलाई बिरामीको अवस्थाबारे चिकित्सकसँग समन्वय गरी जानकारी दिने व्यवस्था गरिएको छ।
भुक्तानीतर्फ, प्रति बिरामी १० लाख रुपैयाँसम्म क्रेडिटमा उपचारपछि डिस्चार्ज गर्न सकिनेछ भने बढी रकमका लागि अग्रिम भुक्तानी आवश्यक पर्नेछ।
बाँकी रकम ३० दिनभित्र बुझाउनुपर्नेछ।
सम्झौताअनुसार सदस्य, कर्मचारी र परिवारलाई १० प्रतिशतसम्म छुट तथा दुर्घटनाका बिरामीलाई १०–२० प्रतिशतसम्म छुट दिइनेछ।
तर औषधि, इम्प्लान्ट र बाह्य सेवामा छुट लागू हुने छैन।
साथै, वार्षिक दुई करोड रुपैयाँभन्दा बढी कारोबार भए ‘इन्फेक्सन कन्ट्रोल चार्ज’मा ५० प्रतिशतसम्म अतिरिक्त छुट दिने व्यवस्था पनि कायम राखिएको छ।
दुवै पक्षले सडक सुरक्षा, स्वास्थ्य सचेतना, रक्तदान र मेडिकल क्याम्पजस्ता सामाजिक कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने सहमति गरेका छन्। यो सम्झौता तीन वर्षका लागि लागू हुनेछ।