नाडा–बागमती प्रदेश भेटघाट

आज मिति २०८२ चैत्र ९ गते, नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ।

भेटघाटमा मुख्यमन्त्री बानियाले नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठनमा हार्दिक बधाई र शुभकामना दिनु भएको छ र कार्यकालको सफलता कामना गर्नुभयो।

उहाँले नाडाको ५० वर्षको अनुभव—राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र—प्रशंसनीय भएको बताउनुभयो।

मुख्यमन्त्री बानियाले बागमती प्रदेशमा देशको ५० प्रतिशत सवारी दर्ता हुने हुँदा राजधानीमा ट्राफिक र पार्किङ समस्याहरू रहेको, र यसको समाधानका लागि प्रदेश सरकार र नाडाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

साथै, प्रदेश र नाडाले जनशक्ति तयार पार्ने, रोजगारी दिने र सवारी परीक्षण केन्द्र खोल्ने सम्बन्धमा सहकार्य गर्न सक्ने धारणा राख्नुभयो।

छलफलमा नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेशमा २८८३ सदस्य कम्पनीसहित रहेको, अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढी लगानी भएको र वार्षिक ५००० जनशक्ति आवश्यकता रहेको जानकारी दिनुभयो।

उहाँले बागमती प्रदेश सरकारसँग सहकार्यका मोडालिटी तयार गरी पेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले प्रतिभा पलायन रोक्न अटोमोबाइल क्षेत्रले प्रयास गरिरहेको, सीपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहेको र प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताउनुभयो।

विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि छिटो परिवर्तन हुँदै गएकोले त्यसअनुसार प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने, नाडाले परिष्कृत पाठ्यक्रम तयार गरेको र तालिमका लागि संसाधन र प्रशिक्षक दुवैको कमी रहेको औँल्याउनुभयो।

भेटघाटमा नाडाका संस्थागत उपाध्यक्षहरू भद्र भण्डारी र गणेश भट्टराई, उपाध्यक्षहरू विक्रम सिंहानिया र अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष नीलमणी पाठक, र केन्द्रीय कार्य समिति सदस्यहरू दीपकराज गिरी, नारायणप्रसाद पौडेल, राजेश गिरी समेत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *