ट्रक व्यवसायीको पेट्रोल आपत्ति

नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति जनाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँका अनुसार मूल्यवृद्धिले यातायात क्षेत्रमा मात्रै नभई सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्नेछ।

नेपाल आयल निगमले २०८२ चैत १ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगमका अनुसार खाडी क्षेत्रमा युद्ध र विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धिका कारण नेपालमा मूल्य वृद्धि आवश्यक भएको हो।

महासंघले विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण आम नागरिक आक्रोशित भएको र ट्रक व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका छन्।

साथै वैज्ञानिक प्रणाली अनुसार भाडादर स्वचालित समायोजन गर्न माग गरेको छ।

महासंघले २०६५ देखि लागू वैज्ञानिक नीति अनुसार पेट्रोलियम मूल्य घटबढ हुँदा भाडादर समायोजनको प्रभावकारी कार्यान्वयन नभएको र २०८१ पुस २२ यता भाडादर पुनरावलोकन नभएको असन्तुष्टि व्यक्त गरेको छ।

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ, डिजेल र मट्टीतेलमा १० रुपैयाँले मूल्य वृद्धि गरेको छ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७२ रुपैयाँ र डिजेल–मट्टीतेल १५२ रुपैयाँ, दाङ र सुर्खेतमा पेट्रोल १७१ रुपैयाँ र डिजेल–मट्टीतेल १५१ रुपैयाँ, अन्य पहिलो वर्गका शहरहरूमा पेट्रोल १६९.५० र डिजेल–मट्टीतेल १४९.५० रुपैयाँ कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *