राष्ट्रिय परिचयपत्रबाट बीमा

अब नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न सक्ने भएका छन्।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच आज यस विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस समझदारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरेर स्वास्थ्य बीमा प्रणालीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाइनेछ।

बोर्डका सूचना अधिकारी विकेश मल्लले भने, “अब बोर्ड र विभागका तथ्याङ्क एकीकृत गरेर स्वास्थ्य बीमा सेवा प्रवाह गरिनेछ।”

राष्ट्रिय परिचयपत्रको आधारमा दर्ता र नवीकरणको प्रक्रिया आगामी चैत २५ गतेदेखि सुरु हुने उनले बताए।

हाल स्वास्थ्य बीमा बोर्डमा करिब एक करोड दुई लाख विमित आबद्ध छन्। पहिले नागरिकता र चालक अनुमतिपत्रमार्फत बीमा सेवा दिइँदै आएको थियो।

नवीन प्रणालीले बीमा दर्ता, नवीकरण, तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *