अपर ठूलोखोला विद्युत् लाइनमा

२२.५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको यो आयोजनाको संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेपछि विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको हो।

आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार फागुन २९ गतेदेखि परीक्षणका लागि विद्युत् केन्द्रीय लाइनमा पठाउन सुरु गरिएको थियो। पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि प्रणालीमा जोडिएको हो।

परीक्षण सफल भएपछि करिब १५ दिनपछि आयोजनाबाट व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिएको छ। अहिले सुक्खायाममा करिब १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको बताइएको छ।

करिब ४ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा विभिन्न बैंकहरूले ऋण लगानी गरेका छन् भने केही लगानी सर्वसाधारणका लागि सेयरमार्फत उठाइने योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *