बागमती–पथलैया सडकमा प्रतिस्पर्धा

बागमतीदेखि पथलैयासम्मको सडक विस्तार परियोजनाका लागि २३ निर्माण कम्पनीले रुचि देखाएका छन्। यस परियोजनाको अनुमानित लागत करिब १५ अर्ब रुपैयाँ रहेको छ।

टेन्डरको म्याद दुई पटक थपिएपछि सडक विस्तारका लागि यी कम्पनीहरूले आवेदन दिएका हुन्।

५३ किलोमिटर लामो यो सडकलाई चार लेनमा विस्तार गर्ने योजना छ। यसका लागि २६ किलोमिटर र २७ किलोमिटर गरी दुई भागमा ठेक्का दिने तयारी गरिएको छ।

ठेक्का पाउन चिनियाँ र भारतीय कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ। धेरैजसो विदेशी कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा प्रस्ताव पेस गरेका छन्।

सडक विभागले अहिले कम्पनीहरूले पेस गरेका प्राविधिक प्रस्तावको मूल्यांकन गरिरहेको छ। आवेदन धेरै भएकाले मूल्यांकन सक्न करिब एक महिना लाग्न सक्ने बताइएको छ।

मूल्यांकनपछि योग्य कम्पनीहरूको सूची विश्व बैंकमा पठाइनेछ, किनकि यो परियोजना विश्व बैंकको ऋण सहयोगमा सञ्चालन हुँदैछ।

सडक विस्तारअघि साइट क्लियरेन्सको काम पनि सुरु गरिएको छ। यस क्रममा रौतहट र बारामा करिब २४ हजार रुख काट्नुपर्ने योजना रहेको छ।

सडक निर्माणका लागि बिजुलीका पोल सार्ने र केही घरटहरा हटाउने काम पनि भइरहेको छ। यो प्रक्रिया असारसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

कमला–ढल्केबर–बागमती खण्डमा भने काम सुस्त रहेको छ। बिजुलीका पोल सार्ने काम ढिलो हुँदा निर्माण कार्यमा ढिलाइ भएको परियोजनाले जनाएको छ।

यस परियोजनाअन्तर्गत विभिन्न ठाउँमा रुख कटान, कल्भर्ट निर्माण र पुलको संरचना बनाउने काम भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *