मर्स्याङ्दीबाट पुनः विद्युत् उत्पादन

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रमा मर्मत कार्य सकिएपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ।

प्लान्टलाई २१ दिनसम्म पूर्ण रूपमा बन्द गरेर जटिल प्राविधिक र सिभिल संरचनासम्बन्धी मर्मत कार्य गरिएको थियो।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको यो केन्द्र क्षमताका हिसाबले तेस्रो र वार्षिक उत्पादनका हिसाबले दोस्रो ठूलो जलविद्युत् केन्द्र मानिन्छ।

गत आर्थिक वर्षमा यस केन्द्रले ४५१.७ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको थियो भने चालु आर्थिक वर्षको माघ मसान्तसम्म २९३.५ गिगावाट घण्टा उत्पादन भइसकेको छ।

केन्द्र प्रमुख कपिलदेव मानजनका अनुसार मर्मतका क्रममा बाँध क्षेत्रको संरचना संरक्षण, कटान रोकथाम तथा महत्वपूर्ण ‘अन्डर स्लुइस गेट’को मर्मत गरिएको छ।

यो गेट सुरुङमा बालुवा प्रवेश हुन नदिन महत्त्वपूर्ण मानिन्छ र लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन।

यस अवधिमा मुख्य इन्टेक नजिकको पोखरीमा जम्मा भएको बालुवा हटाउने काम पनि सम्पन्न गरिएको छ।

मर्मत कार्यलाई प्राथमिकता दिँदै विद्युत् गृहको युनिट नम्बर ३ को ओभरहोलिङ पनि गरिएको थियो।

बाँध क्षेत्रमा भइरहेको सिभिल मर्मतका लागि २४ घण्टा तीन सिफ्टमा जनशक्ति परिचालन गरिएको थियो।

यो मर्मत नदीको बहाव कम भएको समयमा उत्पादनमा कम असर पर्ने गरी योजना बनाइएको केन्द्रले जनाएको छ।

यससँगै एलटी टाइप ब्रेकर परिवर्तनसहित अन्य आवश्यक विद्युतीय र मेकानिकल मर्मत पनि गरिएको छ।

केन्द्रका अनुसार यस मर्मतपछि उत्पादन क्षमता सुधार हुने र प्राविधिक जोखिम पनि कम हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *