रघुगंगा गाउँपालिका–३ को राहुघाटदेखि पिप्ले बगैँचासम्म जोड्ने पदमार्ग निर्माण गरिएको छ।
सडक बनेपछि प्रयोगमा नआएको रघुगंगा गाउँपालिकाका १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले बेनी आउजाउ गर्न प्रयोग गर्ने पुरानो पदमार्गलाई पुनः निर्माण गरी व्यवस्थित गरिएको हो।
एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर फलामको रेलिङसहितको पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए।
उनका अनुसार गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा ५ लाख रुपैयाँ बजेट दिएको थियो।
पदमार्ग निर्माणका लागि स्थानीय उपभोक्ताले ३६ हजार रुपैयाँ बराबरको श्रमदान पनि गरेका छन्।
करिब दुई दशकअघि सडक बनेपछि यो पदमार्ग प्रयोगमा नआएको थियो।
पछिल्लो समय पहिरोका कारण बाटो बिग्रिँदा विशेष गरी घाटमा शव लैजान आउने मलामीलाई धेरै समस्या हुने गरेको थियो।
अब भिरालो र अप्ठ्यारो ठाउँमा रेलिङसहितको पदमार्ग बनेपछि यात्रा सुरक्षित र सजिलो भएको बगैँचाका बासिन्दा नारायण सुवेदीले बताए।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यो पदमार्ग अझ व्यवस्थित बनाउन आगामी वर्षको योजनामा बजेट राख्ने पहल गरिने बताए।