आगामी निर्वाचनलाई ध्यानमा राख्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका तीन दिनका लागि बन्द गरिने भएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि नाका बन्द गरिनेछ।
फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका पूर्णरूपमा बन्द रहनेछ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
बैतडीको करिब ३१ किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ, जहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका बिओपीमार्फत निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जानकारी दिएको छ।
तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटबाट डुङ्गामार्फत हुने आवतजावत पनि चुनाव अवधिभर रोकिने बताइएको छ।
अत्यावश्यक अवस्थामा भने दुई देशबीचको समन्वयमा नाका खोल्न सकिने प्रशासनले स्पष्ट पारेको छ।
Post Views: 69