सीजी मोटर्स भन्सार सम्मानित

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले आयोजना गरेको कार्यक्रममा सीजी मोटर्स प्रा.लि.लाई सम्मान गरिएको छ।

भन्सार नियम र कानुनको पूर्ण पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्‍याएको कदरस्वरूप कम्पनीलाई कदर–पत्र प्रदान गरिएको हो।

विश्व भन्सार संगठनको यस वर्षको नारा ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ अनुसार आयोजित कार्यक्रममा सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

गत आर्थिक वर्षमा विद्युतीय सवारीसाधन आयात गरी ३ अर्ब २१ करोड राजस्व बुझाएको सीजी मोटर सप्लायर्स तथा ७४ करोड बराबरको सामग्री निर्यात गरेको फिन्जो सोनाम सप्लायर्स काठमाडौंलाई पनि सम्मान गरिएको छ।

सीजी मोटर्सलाई पारदर्शी आयात प्रक्रिया, समयमै राजस्व भुक्तानी र वैध व्यापार प्रवर्द्धनमा गरेको योगदानका लागि प्रशंसा गरिएको हो।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले आगामी दिनमा पनि नियमअनुसार जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *