पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत जिल्लाको मोदीखोलामा नयाँ आर्क ब्रिज निर्माण सुरु भएको छ।
यो पुलले मोदी गाउँपालिका–२ र पातिचौर–६ डिमुवा लाई जोड्नेछ।
पर्वत खण्डको सडक कालोपत्रे भएको करिब तीन वर्षपछि मात्रै पुल निर्माण सुरु गरिएको हो।
आयोजना कार्यालयका अनुसार नयाँ पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ।
डबल स्पान संरचनाको यस पुलका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ।
यसअघि मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण सम्पन्न भइसकेको छ।
सुन्दरेखोला र मोदीखोलामा भने पुल निर्माण कार्य जारी रहेको छ।
मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने पोखरा–कुश्मा सडक खण्ड तीन वर्षअघि नै दुई लेनमा स्तरोन्नति भइसकेको भए पनि पुराना एक लेनका पुलहरू सवारी चाप धान्न नसक्ने अवस्थामा पुगेका थिए।
यही कारणले नयाँ र फराकिला पुल निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ।