Skip to content
म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा रहेको विकट बस्ती गुर्जालाई चालु आर्थिक वर्षभित्र सडक सञ्जालमा जोड्ने तयारी सुरु गरिएको छ।
लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत यस वर्ष करिब चार किलोमिटर नयाँ ट्र्याक खोलेर गुर्जासम्म गाडी पुर्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
२०७९/८० सालदेखि सुरु भएको यो योजना धवलागिरि गाउँपालिकाको प्राथमिकताप्राप्त गौरवको आयोजना हो।
अघिल्ला तीन वर्षमा गाउँपालिका, प्रदेश र संघीय सरकारको लगानीमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक खोलिसकिएको छ।
चालु आर्थिक वर्षका लागि एक करोड ७० लाख बजेट छुट्याइएकामा ठेकेदार कम्पनीले भैसीमानेदेखि झिरसोसम्म करिब एक किलोमिटर मार्ग खोलिसकेको छ।
थप चार किलोमिटर सडक खुलेपछि गुर्जा सिधै यातायात सञ्जालमा जोडिने वडा कार्यालयले जनाएको छ।
यसअघि गुर्जाबाट लुलाङ पुग्न दिनभर पैदल हिँड्नुपर्ने अवस्था रहे पनि अहिले गाडी पुग्ने ठाउँबाट करिब ३० मिनेटमै गाउँ पुग्न सकिने भएको छ।
सडक सञ्चालन भएपछि गुर्जाबाट गाउँपालिकाको केन्द्र मुना, सदरमुकाम बेनी र पोखरासम्मको यात्रा समय उल्लेख्य रूपमा घट्नेछ।
सडकसँगै ग्यावियन, पर्खाल, नाला निर्माण तथा घुम्ती सुधारको काम पनि भइरहेको छ।
दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ।
सडक नहुँदा खाद्यान्न, निर्माण सामग्री ढुवानी महँगो पर्ने र बिरामीलाई हेलिकप्टरमार्फत अस्पताल लैजानुपर्ने बाध्यता थियो।
सडक पुगेपछि दैनिक जीवन सहज हुनुका साथै आन्तरिक पर्यटकको आगमन बढ्ने स्थानीय जनप्रतिनिधिको अपेक्षा छ।
Post Views: 138