सीईएसमा चालकविहीन फोकस

विश्वकै ठूलो प्रविधि प्रदर्शनी सीईएस २०२६ गत साता सुरु भएको छ। यस वर्षको प्रदर्शनीमा अटोमोबाइल क्षेत्रमा ठूलो परिवर्तन देखिएको छ।

अघिल्ला वर्षहरूमा विद्युतीय सवारी (ईभी) र तिनका नयाँ मोडल सार्वजनिक गर्ने होड चल्थ्यो। तर यस पटक ईभीको चर्चा कम देखियो र ध्यान चालकविहीन (अटोनोमस) ड्राइभिङ प्रविधितर्फ सरेको छ।

विश्वका ठूला सवारी उत्पादकहरू अझै पनि ईभी र ब्याट्री प्रविधिमा लगानी गरिरहेका छन्। कम लागत, लामो रेन्ज र टिकाउ ब्याट्री विकास उनीहरूको प्राथमिकतामा छ। तर सीईएस २०२६ मा नयाँ ईभी मोडल कम देखिनु सबैका लागि चकित पार्ने विषय बनेको छ।

अमेरिकामा ईभीप्रतिको धारणा अझै पूर्ण रूपमा सकारात्मक हुन सकेको छैन। चीनमा बनेका ईभीप्रति कडा कर नीति अपनाइएकाले पनि बजार विस्तार सुस्त देखिन्छ।

टेस्लाबाहेक फोर्ड र जनरल मोटर्सजस्ता अमेरिकी कम्पनीहरूले ईभीमा सीमित लगानी गरिरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली पनि ईभीमैत्री नदेखिएको टिप्पणी भइरहेको छ।

ईभीको चर्चा किन घट्यो भन्ने प्रश्नमा बजार विश्लेषकहरूका अनुसार पछिल्लो वर्ष ईभीको माग घट्नु र चार्जिङ पूर्वाधारको विकास ढिलो हुनु मुख्य कारण हो।

अब उपभोक्ताका लागि गाडी विद्युतीय हुनु मात्रै ठूलो कुरा रहेन। २०२६ को बजारमा गाडी कति ‘स्मार्ट’ छ, आफैं कति सुरक्षित रूपमा चल्न सक्छ भन्ने कुरा महत्वपूर्ण बन्दै गएको छ।

ईभीको उपलब्धता बढिसकेकाले यसको मूल्य पनि आईसी इन्जिन कारसरह हुन थालेको छ। त्यसैले उपभोक्ताको ध्यान गाडीको इन्धनभन्दा पनि सुविधातर्फ सरेको छ।

यस वर्ष ‘सफ्टवेयर डिफाइन्ड भेहिकल’ अवधारणाले प्राथमिकता पाएको छ। कार निर्माताहरूले डिजाइन र ब्याट्रीभन्दा बढी गाडीभित्रको सफ्टवेयर र एआई क्षमतामा जोड दिएका छन्।

सीईएसमा लेभल–४ अटोनोमस प्रविधियुक्त गाडीहरू प्रस्तुत गरिएका छन्, जसले सहरका सडकमा चालकबिनै चल्न सक्ने क्षमता देखाएका छन्।

एनभिडिया र क्वालकमजस्ता कम्पनीका एआई चिप्सले गाडीलाई छिटो निर्णय लिन सक्षम बनाउने देखाइएको छ।

त्यसैगरी रोबोट्याक्सी अवधारणाले पनि चर्चा पाएको छ, जहाँ निजी गाडीभन्दा ‘सवारी सेवा’का रूपमा चालकविहीन ट्याक्सी सञ्चालन गर्ने योजना अघि सारिएको छ।

विश्लेषकहरूका अनुसार अब प्रतिस्पर्धा ब्याट्री रेन्जमा मात्र सीमित रहने छैन। भविष्यको दौड सुरक्षित र बुद्धिमानी रूपमा आफैं चल्ने गाडी कसले बनाउँछ भन्नेमा केन्द्रित हुनेछ।

सीईएस २०२६ ले अटोमोबाइल उद्योगलाई नयाँ मोडमा पुर्‍याएको छ, जहाँ स्टेयरिङ ह्विल बिस्तारै इतिहास बन्दै जाने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *