ट्रक महासंघ महाधिवेशन ललितपुरमा

नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा हुने भएको छ।

महासंघको मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा आयोजना गरिनेछ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।

साधारणसभा तथा महाधिवेशनमा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरूको सक्रिय सहभागिता रहने महासंघले जनाएको छ।

कार्यक्रममा हालसम्मका गतिविधिको समीक्षा, भावी कार्ययोजना तथा नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए।

यसअघि महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल गर्न महासंघको कार्यसमितिको बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने पनि जनाइएको छ।

महासंघले साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन सबै सम्बन्धितको उपस्थितिका लागि अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *