इलाम सडक पुनर्निर्माणमा स्रोत सहमति

असोजमा परेको भारी वर्षा र बाढी–पहिरोले क्षति पुगेका इलामका सडक तथा पुलहरू मर्मत–पुनर्निर्माण गर्न सरकारले २ अर्ब १९ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ।

यो रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले उपलब्ध गराएको हो।

स्रोत सहमतिसँगै मेची राजमार्ग, माइखोला, पुवाखोला र जोगमाईखोला पुलहरू लगायतका क्षतिग्रस्त इञ्जिनियरिङ संरचनाहरू पुनर्निर्माण गर्न टेन्डर प्रक्रिया अगाडि बढ्ने भएको छ।

सरकारले चालु आवको लागि तत्काल आवश्यक ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको छ।

यसबाट सडक तथा पुल पुनर्निर्माण कार्य चाँडो अघि बढ्ने तयारी भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ।

इलाममा असोज १९–२० गते परेको पहिरोमा ३९ जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति पुगेपछि सरकारले इलामलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *