टाटाको ईभी बजार अग्रता

भारतमा विद्युतीय सवारीको बिक्री अझै आईसी इन्जिन कारको तुलनामा कम भए पनि टाटा मोटर्सले ईभी क्षेत्रमा स्पष्ट अग्रता लिएको छ।

कम्पनीले भारतमा हालसम्म २ लाख ५० हजारभन्दा बढी विद्युतीय कार बिक्री गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

सन् २०२० मा पहिलो पटक नेक्सन ईभी सार्वजनिक गरेको टाटा मोटर्सले पाँच वर्षभित्र यो बिक्री संख्या पूरा गरेको हो।

नेक्सन ईभी टाटाको सबैभन्दा सफल मोडल बनेको छ, जसको मात्रै १ लाखभन्दा बढी बिक्री भइसकेको छ।

हाल भारतको विद्युतीय कार बजारमा टाटाको बजार हिस्सा करिब ६६ प्रतिशत पुगेको छ।

टाटा मोटर्सले अहिले भारतीय बजारमा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी, पन्च ईभी र ह्यारीयर ईभी बिक्री गरिरहेको छ। साथै, सियरा एसयूभीको विद्युतीय संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ।

कम्पनीले २०२६ मा सियरा ईभीसँगै अभिन्या नामको प्रिमियम लक्जरी ईभी पनि बजारमा ल्याउने जनाएको छ।

भविष्यतर्फ हेर्दै टाटा मोटर्सले २०३० सम्म थप ५ नयाँ ईभी मोडल ल्याउने योजना बनाएको छ।

साथै, २०२७ को अन्त्यसम्म ४ लाख चार्जिङ प्वाइन्ट स्थापना गर्ने लक्ष्यसहित ‘नेक्स्ट जेन चार्जिङ’ प्रणालीमा पनि काम अघि बढाइएको छ।

भारतसँगै नेपाली बजारमा पनि टाटाका विद्युतीय कारको राम्रो उपस्थिति देखिएको छ।

सिप्रदी ट्रेडिङमार्फत पछिल्लो पाँच वर्षमा नेपालमा ९ हजार ३ सयभन्दा बढी टाटा ईभी बिक्री भइसकेका छन्।

देशभर विस्तार गरिएको सर्भिस, स्पेयर पार्ट्स र चार्जिङ नेटवर्कका कारण टाटाका ईभीप्रति नेपाली उपभोक्ताको विश्वास बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *