डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेड (DFMIEC) का अध्यक्ष वाङ लङको नेतृत्वमा रहेको एक वरिष्ठ प्रतिनिधिमण्डल औपचारिक निरीक्षण तथा एक्सचेन्ज भ्रमणका लागि नेपाल आएको छ।
भ्रमणको उद्देश्य नेपालमा डोङफेङको बजार प्रदर्शन, सञ्चालन संरचना र समग्र उपस्थितिको समीक्षा गर्दै स्थानीय साझेदार तथा ग्राहकसँगको सहकार्य थप मजबुत बनाउनु रहेको थियो।
प्रतिनिधिमण्डलमा DFMIEC का अध्यक्ष वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजिए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान तथा दक्षिण एसिया क्षेत्रका क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी थिए।
टोलीले नेपालमा भइरहेको बजार गतिविधि, पूर्वाधार र आफ्टर सेल्स सर्भिसको मूल्याङ्कन गर्दै भविष्यको विकास, विस्तार र बजार पहुँचका सम्भावनाबारे अध्ययन गरेको थियो।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले डोङफेङको हालसम्मको बजार प्रदर्शन, ग्राहक प्रतिक्रिया, बजार प्रवृत्ति र सञ्चालन दक्षताबारे जानकारी लिएको थियो।
साथै, विद्यमान सुविधा तथा फ्यासिलिटीको मूल्याङ्कन गर्दै ब्रान्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन दायरा विस्तार गर्ने रणनीतिमाथि छलफल गरिएको थियो।
यसै अवसरमा डोङफेङका प्रतिनिधिमण्डलले नेपालका ग्राहकहरूलाई नामी ब्रान्डका सवारीसाधनहरू हस्तान्तरण गरेका थिए, जसलाई ब्रान्डको नेपालस्थित उपस्थितिका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
यस कदमले डोङफेङ र नामीले भरपर्दो तथा भ्यालु–बेस्ड मोबिलिटी समाधान प्रदान गर्दै ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता झल्काएको छ।
भविष्यको सहकार्य र बजार विकाससम्बन्धी सकारात्मक छलफलसँगै भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।
डोङफेङ मोटरले नेपालमा आफ्ना गतिविधि निरन्तर विस्तार गर्ने, स्थानीय साझेदारसँग सहकार्य बढाउने, पूर्वाधार सुदृढ गर्ने, सेवा गुणस्तर सुधार गर्ने र विकसित हुँदै गएको नेपाली विद्युतीय सवारी बजारमा नयाँ सम्भावनाहरू खोल्ने प्रतिबद्धता पुनः दोहोर्याएको छ।