नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (NAIMA) ले गत भदौ २३ र २४ गते भएको जेन–जि आन्दोलनका क्रममा गम्भीर रूपमा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको आपतकालीन सहयोग सफलतापूर्वक सम्पन्न गरी औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
NAIMA का अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ तथा कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मंगलबार उक्त सहयोग हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा NAIMA बाट प्राप्त सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सो सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउनुभयो र संस्थाप्रति आभार व्यक्त गर्नुभयो।
त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले NAIMA र यसका सदस्यहरूद्वारा प्रदान गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गर्नुभयो।
उहाँले स्थापनाको छोटो समयमै NAIMA ले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापित गर्न सफल भएको बताउँदै संस्थालाई ट्राफिक शिक्षा तथा व्यवस्थापनको भरपर्दो सहयात्रीको रूपमा उल्लेख गर्नुभयो।
कार्यक्रममा अध्यक्ष वैद्यले संकटको समयमा सानो सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु NAIMA को मूल कार्यदिशा रहेको र आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यकारी निर्देशक दुलालले सहयोगको विवरण प्रस्तुत गर्दै यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल तथा ढोकाको पुनर्निर्माण गरिएको र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टरलगायत सामग्री सहयोग प्रदान गरिएको जानकारी दिनुभयो।
Post Views: 131