मन्त्री कुलमान घिसिङ सुरुङमार्गमा

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६३ दशमलव ०१ प्रतिशत भएको छ।

गत ११ माघमा ‘ब्रेक थ्रु्’ गरिएको एक हजार १२६ मिटर लामो सुरुङमार्गको वित्तिय प्रगति ५६ दशमलव ३६ प्रतिशत रहेको आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीले बताइन्।

सुरुङमार्ग निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा ठेक्का लिएको थियो।

मन्त्री घिसिङले लिए सुरुङमार्गबारे जानकारी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आइतबार सुरुङमार्गको प्रगतिका बारेमा जानकारी लिएका छन्। सुरुङमार्गको अवलोकन गर्दै उनले प्रगतिका बारेमा चासो राखेका हुन्।

आयोजनाका प्रमुख नवराज बाँस्तोलाका अनुसार मन्त्री घिसिङले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका छन्। सुरुङमार्ग निर्माणका क्रममा देखिएका समस्याहरू निर्माण कम्पनी तथा आयोजनाले मन्त्रीसमक्ष राखेका थिए।

सुरुङमार्गको तीनवटै बाइपासको ब्रेक थ्रु गत वर्ष नै भएको थियो। तेस्रो र पहिलोको ब्रेक थ्रु अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोस्रो बाइपासको ब्रेक थ्रु गत वर्षको ७ पुसमा भएको थियो।

यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ र तेस्रोको १३० मिटर लम्बाइ रहेको छ।

सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *