१ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात

चालु आर्थिक वर्षको पाँच महिनामै निर्यात व्यापारले खर्बको आँकडा पार गरेको छ । भन्सार विभागका अनुसार मंसिर मसान्तसम्म मुलुकबाट १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत धेरै हो ।

अघिल्लो वर्षको मंसिरसम्म ७३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको मंसिरमा मात्र नेपालले २३ अर्ब एक करोड रुपैयाँ बराबरको वस्तु निकासी गरेको छ । अघिल्लो महिना कात्तिकसम्म ९३ अर्ब ४९ करोडको निकासी भएकोमा मंसिरको तथ्यांकसँगै खर्बको आँकडा पार गरेको हो ।

निकासी बढे पनि वृद्धिदरमा भने कमी आएको छ । कात्तिक महिनासम्म कुल निकासीमा ७७.५१ प्रतिशत वृद्धि रहेकोमा मंसिरमा भने वृद्धिदर घटेर ५८.१७ प्रतिशतमा सीमित भएको छ । यस्तै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा कात्तिकमा १३.३० प्रतिशत रहेकोमा मंसिरमा घटेर १३.२० प्रतिशतमा सीमित भएको छ ।

मंसिर महिनाको तथ्यांकसँगै वृद्धिदरमा आएको कमीले निर्यात व्यापारमा सरकार, निजी क्षेत्र सबैको ध्यान जानुपर्ने सरोकारवाला बताउँछन् । मंसिरमा २३ अर्ब रुपैयाँको निर्यात हुँदा पनि वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै जानुले भोलिका दिन चुनौतीपूर्ण नै रहेको देखिएको वाणिज्य मन्त्रालय पूर्व सहसचिव रविशंकर शैंजु बताउँछन् । ‘सोयाबिन तेल निर्यात साफ्टाको सुविधाबाट गएको हो ।

भारतले दिएको सुविधाले केही निर्यात बढेको देखिए पनि भ्यालु एड हुन सकेको छैन । भ्यालु एड र रोजगारी सिर्जना यो निर्यातबाट हुन सकेको छैन,’ उनले भने । उनका अनुसार कुनै पनि बेला भारतले यसमा फेरबदल गरेमा यसको प्रत्यक्ष असर नेपालमा पर्छ । त्यसैले यो अल्पकालका लागि मात्रै निर्यात राम्रो हो । ‘दिर्घकालका लागि नेपालमा भ्यालु एड गरेर पठाउन सकेको भए राम्रो हुने थियो । अहिलेको अवस्थामा आयात र निर्यात सोयाबिनमा खासै फरक छैन । यसको अर्थ भ्यालु एड छैन भन्ने प्रष्ट छ,’ उनले भने ।

विभागका अनुसार पाँच महिनामा ८ खर्ब ८२ अर्ब ६९ करोडको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतभन्दा बढी हो । गत आवको मंसिरसम्म ७ खर्ब ३५ अर्ब १४ करोडको व्यापार भएको तथ्यांक छ । आयात र निर्यात दुवै वृद्धि हुँदा समग्र वैदेशिक व्यापार उकालो लागेको हो ।

विभागका अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ६६ अर्ब १८ करोडको वस्तु आयात भएको छ, जुन गत आव सोही अवधिको तुलनामा १५.८३ प्रतिशत धेरै हो । कुल वैदेशिक व्यापारको आकार २० प्रतिशतले वृद्धि भएसँगै व्यापार घाटा पनि १०.५२ प्रतिशतले बढेको छ । मंसिरसम्म ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा भएको छ । गत आवको सोही अवधिमा व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड थियो ।

आयात व्यापारमा पेट्रोलियम पदार्थको स्थान सबैभन्दा अगाडि रहेको छ । इन्धन आयातका लागि नेपालले पाँच महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ खर्चिएको छ । यस अवधिमा डिजेल ४५ अर्ब ६० करोडको आयात भएको छ भने पेट्रोल आयात २७ अर्ब ३३ करोडको भएको छ । २२ अर्ब ३९ करोडको एलपी ग्यास आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

कच्चा सोयाबिन आयातमा पनि ४६ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, १९ अर्ब १३ करोडको स्मार्टफोन आयात भएकोमा सुन आयात १९ अर्ब ७ करोडको भएको छ । आइरन र स्टिल आयात ५४ अर्ब ६ करोडको भएको देखिन्छ । इलेक्ट्रिकल मेसिनरी र पार्टस् आयातमा ५३ अर्ब ९३ करोड विदेशिएको छ । सवारीसाधन आयात ४७ अर्ब १९ करोडको भएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेपाली उत्पादन तथा उच्च भ्यालु एड हुन सक्ने खालका उत्पादनमा जोड दिन सकियो भने त्यसको प्रभाव दिर्घकालसम्म पर्ने बताउँछन् । त्यसका लागि उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले नीतिमा भएका व्यवस्था मात्रै कार्यान्वयन हुन सके पनि आयात–निर्यातको खाडल धेरै कम गर्न सकिने बताए ।

निर्यातमा सबैभन्दा अगाडि सोयाबिन तेल छ । पाँच महिनामा ४६ अर्ब ५५ करोडको सोयाबिन तेल निर्यात भएको छ । यसबाहेक धागो ५ अर्ब ६० करोड र अलैंची ५ अर्ब ५३ करोडको निर्यात भएको छ । कार्पेट निर्यात ४ अर्ब १३ करोड तथा जुट निर्यात २ अर्ब ७३ करोडको भएको छ ।

भारतमा निर्यात खर्ब नजिक
भारतबाट पाँच महिनामा ४ खर्ब ३४ अर्बको वस्तु आयात भएको छ भने निर्यात ९५ अर्बको भएको छ । यस्तै, चीनबाट १ खर्ब ६३ अर्बको आयात भएको छ । निर्यात भने ४६ करोडको मात्र भएको छ ।

अर्जेन्टिनाबाट ४४ अर्ब ५६ करोडको आयात हुँदा निर्यात भने ८ लाखको मात्र भएको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) चौथो स्थानमा छ । त्यहाँबाट २३ अर्ब ४५ करोडको आयात र ८४ करोडको निर्यात भएको छ । अमेरिकाबाट १० अर्ब ३५ करोडको सामान आयात हुँदा ७ अर्ब ४२ करोड ६० लाखको निर्यात भएको तथ्यांक छ ।

कुल व्यापार: ८ खर्ब ८२ अर्ब
आयात: ७ खर्ब ६६ अर्ब
निर्यात: १ खर्ब १६ अर्ब
व्यापार घाटा :६ खर्ब ४९ अर्ब
बढी आयात भएको वस्तु (इन्धन): १ खर्ब २१ अर्ब
बढी निर्यात भएको वस्तु (सोयाबिन तेल): ४६ अर्ब ५५
स्रोतः भन्सार विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *