कन्काई पुलको ठेक्का रद्द

हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई पुल (७२३ मिटर) निर्माण १४ वर्षदेखि अलपत्र परेपछि सरकारसँग भएको ठेक्का अन्ततः रद्द गरिएको छ।

पप्पु–महादेव–खिम्ती जेभीसँग २०६८ जेठ ३१ मा पुल डिजाइन–बिल्ड मोडेलमा ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का गरिएको थियो।

२०७२ जेठसम्म काम सक्ने सम्झौता भए पनि पाँच पटक म्याद थप्दा पनि ५६% मात्र प्रगति भएकोले ठेक्का तोडिएको हो।

निर्माण व्यवसायीको १ करोड ७१ लाख जमानत रकम पनि जफत गरिनेछ।

योजना कार्यालयले गत कात्तिकमा ‘किन ठेक्का नतोड्ने?’ भनेर १५ दिनको स्पष्टीकरण मागेको थियो।

तर आएको स्पष्टीकरण विश्वसनीय नदेखिएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको बताइएको छ।

व्यवसायीले अद्यावधिक कार्ययोजना, स्रोत परिचालन योजना, वा काम गर्ने प्रतिबद्धता केही पनि देखाउन सकेनन्।

अब बाँकी कामका लागि आवश्यक रकम सरकारी बाँकीजस्तै गरी असुल गर्न सकिनेछ र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।

हालसम्म पुलका १९ स्पानमध्ये ८ स्पान मात्र पुरा भएका छन्। ११ स्पानमध्ये २ मा गर्डर राखिएको, ६ स्पानमा जग हालिएको र ३ स्पानको जग हाल्न अझै बाँकी छ।

स्थानीय बासिन्दाले पुल निर्माण ढिला हुँदा यातायात, व्यापार र पर्यटनमा ठूलो समस्या परेको भन्दै तत्काल निर्माण पूरा गर्न माग गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *