म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १५६ वटा विकास योजना छनोट गरेको छ।
योजनामध्ये १६ करोड २७ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएका ३ योजनाको सर्वेक्षण, लागत अनुमान, उपभोक्ता समिति गठन, ठेक्का आह्वान र सम्झौताका प्रक्रिया अघि बढाइएको छ।
१५६ योजनामध्ये हालसम्म ३ को सम्झौता, १ को अन्तिम भुक्तानी, ४४ को सर्वेक्षण, ३० को लागत अनुमान तयार र ७ योजनाको ठेक्का आह्वान भएको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताए।
गाउँपालिकाले पुस महिनाभित्र सबै सम्झौता र बैशाखभित्र अन्तिम भुक्तानी गर्ने लक्ष्य राखेको छ।
प्राथमिकताका सडक योजनामध्ये भिरकाटे–दोवा, पोखरेबगर–चित्रे, तातोपानी–भुरुङ, बिच्छान–लिस्ने, घार खेलमैदान र रातोपानी कुण्ड संरक्षण योजनाका ठेक्का खुलिसकिएका छन्।
योजनाहरूमा सडक स्तरोन्नति, पदमार्ग, पर्यटन पूर्वाधार, सामुदायिक भवन, खानेपानी, सिंचाइ, खेलमैदान, पहिरो तथा नदी नियन्त्रण जस्ता कामहरू समावेश छन्।
यसअघि सम्झौता भएर सुरु भएका प्रभा र पाउद्धार मावि भवन, रुप्से झरना पूर्वाधार, सेकार्कु तातोपानी निर्माण र खिवाङ–घराम्दी सडकलाई यो वर्ष भित्रै पूरा गर्ने लक्ष्य छ।
गाउँपालिकाले जग्गा प्राप्ति पूरा गरेर यसै वर्ष प्रशासकीय भवन निर्माण सुरु गर्ने तयारी गरेको छ।
आन्तरिक आम्दानीतर्फ, चालु वर्षको लक्ष्य २ करोड १२ लाख ७५ हजार रुपैयाँमध्ये पहिलो चौमासिकमा १ करोड ३७ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
पुनहिल, भुरुङ–तातोपानी, पाउद्धार तथा रातोपानी तातोपानी कुण्ड जस्ता पर्यटन क्षेत्र आय ठेक्कामा लगाएर १५ लाख २१ हजार ८० रुपैयाँ आम्दानी भएको उपाध्यक्ष दिवा तिलीजा पुनले जानकारी दिइन्।