ल्हेन्दे बाढीले ट्रक व्यवसायी संकटमा

चीनको ल्हेन्दे खोलामा गत असार २४ गते आएको भीषण बाढीले केरुङ नाकास्थित नितेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढीले जनधनसहित थुप्रै ट्रक र कन्टेनरमा क्षति पु¥याएपछि ट्रक व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र बुझाउँदै तत्काल पहल गर्न आग्रह गरेको छ।

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाका अनुसार बाढीका कारण केरुङ वरिपरि सयौं ट्रक कन्टेनर बगाएका छन् भने झण्डै ३०० कन्टेनर अहिले पनि चीनतर्फ भन्सार प्रक्रियामा रोकिएका छन्।

तीमध्ये धेरैमा नेपालका व्यापारीहरूले ल्याइरहेका सामान लोड भएका छन्।

चार महिनादेखि ढुवानी ठप्प हुँदा व्यवसायीहरू आर्थिक संकटमा परेको महासंघले जनाएको छ।

यस विषयमा महासंघका महासचिव बाँनियाले बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भेट गरी व्यवसायीहरूको समस्या राखेका थिए। सचिवले आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी क्षेत्रमा क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी प्रतिवेदन तयार गरेको छ।

कार्यालयका अनुसार बाढीले क्षति पुर्‍याएका सात वटा कन्टेनर ट्रकहरूको मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी देखिएको छ।

महासंघले चीनतर्फ रोकिएका कन्टेनर शीघ्र ल्याउन र क्षतिग्रस्त सवारीसाधनहरूको मर्मत सहज बनाउन सरकारलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *