दरबाङ–मुना सडक स्तरोन्नति सुरु

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरबाङ–मुना–ढोरपाटन सडकको स्तरोन्नति कार्य सुरु भएको छ।

गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सुरु भएको योजनाअन्तर्गत कालोपत्र र ढलानको काम मच्छिम क्षेत्रमा प्रारम्भ भएको हो।

९२ करोड ९२ लाख रूपैयाँको लागतमा दरबाङ–धारापानी ७ किमी र मच्छिम–मुना ४ किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ। ठेक्का २०८२ असारमा ५२ करोड ८० लाख रूपैयाँमा सम्झौता भएको हो।

२७ महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढेको छ। चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले २३ करोड २२ लाख रूपैयाँ बजेट छुट्याएका छन्।

धारापानी–ताकम–झिनडाँडा खण्डमा ६० प्रतिशत काम सकिएको र बेनी–दरबाङ २४ किमी सडक कालोपत्र अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

सडक स्तरोन्नतिले म्याग्दी, बागलुङ र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौं यात्रा करिब ७० किमी छोट्याउनेछ।

स्थानीयवासीले यसलाई क्षेत्रको आर्थिक र पर्यटन विकासको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *