डुम्रे नयाँ सहरमा २० किमि कालोपत्र

नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले स्थापना भएदेखि हालसम्म २० दशमलव ३ किलोमिटर सडक कालोपत्र पूरा गरेको छ।

साथै, ३४ दशमलव ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलव ७४ किलोमिटर ढलान र ४६ दशमलव ०२ किलोमिटर नाला निर्माण सम्पन्न गरिएको कार्यालय प्रमुख शान्ति शर्माले बताइन्।

सरकारको नीति अनुसार आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्ग वरिपरि १० नयाँ सहर विकास गर्ने लक्ष्यअन्तर्गत यो आयोजना आर्थिक वर्ष २०७२/७३ देखि सञ्चालनमा आएको हो।

गत आर्थिक वर्षमा कार्यालयले १.५ किलोमिटर ढलान, १.४ किलोमिटर नाला, एक सरकारी भवन, तीन सामुदायिक भवन, एक खेल मैदान, दुई पार्क र चार सयभन्दा बढी सौर्य बत्ती जडान गरेको छ।

गत वर्ष चालुतर्फ १ करोड ५ लाख र पुँजीगततर्फ ११ करोड ७७ लाख बजेट विनियोजन भएकोमा क्रमशः ७५ लाख र ४ करोड ७४ लाख खर्च भएको कार्यालयले जनाएको छ।

डुम्रे भन्सार जग्गा एकीकरणका लागि ६४३ रोपनी जग्गा पहिचान भई प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको पनि जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *