नेपालमा पहिलोपटक विश्वप्रसिद्ध इन्ड्युरेन्स राइड ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ मा आधिकारिक प्रयास गरिएको छ।
राइडर प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले सिएफमोटो ४५०एमटी र ४५०एनके मोटरसाइकलमा २४ घण्टाभित्र १००० माइल (१६०९ किमि) यात्रा पूरा गर्ने लक्ष्य राखेर साहसिक यात्रा सुरु गरेका थिए।
उच्च योजना र उत्साहका बाबजुद अस्थिर मौसम, कठिन भू–भाग र बिग्रँदो सडक अवस्थाका कारण सुरक्षा प्राथमिकता दिँदै यात्रा बीचमै रोक्नुपरेको छ।
यद्यपि, यसले नेपाललाई अन्तर्राष्ट्रिय एन्डुरेन्स मोटरसाइकलिङ कम्युनिटीमा प्रवेश गराउने ऐतिहासिक सुरुवात गरेको छ।
प्रमोद श्रेष्ठले भने, “नेपालसँग एन्डुरेन्स र एडभेन्चर मोटरसाइकलिङका लागि आवश्यक भू–भाग, उत्साह र साहस छ, हामी विश्वलाई देखाउन चाहन्छौं।”
स्वप्न प्रधानले भने, “हामीले हासिल गरेको प्रत्येक किलोमिटरले नेपाली राइडरहरूको क्षमता प्रमाणित गर्यो, यो प्रयास अधुरो भए पनि ठूलो यात्राको सुरुवात हो।”
सिएफमोटो ४५०एमटी र ४५०एनके मोडलले नेपालका विविध भू–भागमा स्थिरता र आरामदायी राइडिङ अनुभव दिएको र लामो हाईवे राइडमा उत्कृष्ट प्रदर्शन गरेको छ।
यस साहसिक प्रयासलाई सिएफमोटो नेपाल, लोकोमो नेपाल, लिक्वी मोली नेपाल र पेट्रोनास स्प्रिन्टा नेपालले आधिकारिक सहयोग प्रदान गरेका थिए।