सरकारले काठमाडौं उपत्यकाको दीर्घकालीन सहरी विकासका लागि ५० वर्षे गुरुयोजना तयार गर्न लागेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार यो योजनाले बढ्दो जनसंख्या र सहरीकरणलाई ध्यानमा राखेर ढल, खानेपानी, सडक, बिजुली, फोहोर व्यवस्थापनजस्ता पूर्वाधारलाई एकीकृत रूपमा अघि बढाउनेछ।
घिसिङले भने, नदीहरू सफा नभएसम्म उपत्यका सुन्दर र व्यवस्थित बन्न नसक्ने भएकाले संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र ठूलो लगानी आवश्यक छ।
कार्यक्रममा बागमती सफाइ महाअभियानका प्रमुख अभियन्ता लिलामणि पौड्यालले यो अभियानले जनचेतना र व्यवहार दुवैमा परिवर्तन ल्याएको बताए।
त्यसैगरी, बागमती सभ्यता एकीकृत विकास समितिले २० वर्षे कार्ययोजना तयार पारेको छ, जसमा नदी संरक्षण, दिगो सहरी विकास, र सार्वजनिक जमिनको सुरक्षा समावेश छ।
उक्त योजना लागू गर्न करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।