कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
गएराति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिएको थियो। बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका थिए।
घाइते पैदलयात्री (करिब ५५ वर्ष) चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम र ठेगाना खुल्न बाँकी छ।
बसमा सवार घाइतेहरूको चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।