उदयपुरको कटारी–घुर्मी खण्ड तीन दशकदेखि स्तरोन्नति नहुँदा यात्रुहरू दैनिक सास्तीमा परेका छन्। वर्खामा सडक हिलाम्य र हिउँदमा धुलाम्य हुने भएकाले दुर्घटनाको जोखिम समेत बढेको छ।
मधेशको सिरहा मिर्चैयादेखि सुरु हुने सिद्धिचरण लोकमार्ग सोलुखुम्बुसम्म पुग्छ। कटारी–घुर्मी ४६ किलोमिटर लामो यो सडक पहाडी क्षेत्रका बासिन्दाको मुख्य मार्ग हो, तर ०५८ सालपछि कहिल्यै मर्मत भएको छैन।
स्थानीय नेता सरोज बुढाथोकीका अनुसार सडक सुधारका लागि पटक–पटक माग गर्दा पनि सरकारले ध्यान दिएको छैन। ०७८ सालमा सडक योजना कार्यालय खोलेर दुई लेनको डिपीआर बने पनि काम अघि बढेको छैन।
सडक जीर्ण हुँदा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि आवश्यक सामान ढुवानी ढिलो हुने र बजार भाउ समेत बढेको उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष धनबहादुर कटुवालले बताएका छन्।