पाँच वर्षसम्म सडक आयोजना पूरा नगर्ने ठेकेदारको बैंक जमानत जफत गरिएको छ।
पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा लिएको पीआर/ओमबुद्ध जेभी कम्पनी (बसुन्धरा, काठमाडौं) को जमानत पूर्वाधार विकास कार्यालय पर्वतले असुल गरेको हो।
२०७८ जेठ १८ गते सम्झौता भई १८ महिनाभित्र काम पूरा गर्नुपर्ने भए पनि ठेकेदारले सडक चक्ल्याउनेबाहेक काम नगरेको कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए।
पटकपटक म्याद थपेर २०८१ चैत २९ सम्म समय दिँदापनि काम नहुँदा अन्ततः जमानत नै जफत गरिएको हो।
११ करोड २२ लाख रुपैयाँ लागतको झन्डै ६ किलोमिटर लामो सडकको ३५ प्रतिशत मात्र काम सम्पन्न भएको थियो।
बारम्बार अनुरोध र पत्राचार गरे पनि ठेकेदार सम्पर्कविहीन भएको कारण अब ठेक्का तोड्ने तयारी गरिएको छ।
निर्माण सुरु भएपछि ठेकेदारले ४ करोड १३ लाख रुपैयाँ भुक्तानी लगेको थियो।
तर नाली व्यवस्थापन नगरी अधुरो छोडेकाले स्थानीय बासिन्दा र गाउँपालिका कार्यालयसम्म आउजाउ गर्न कठिनाइ भएको अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए।
स्थानीयहरूले अब ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।