Skip to content
नागढुंगा सुरुङमार्ग निर्माण गरिरहेको जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले ठेक्का रकमबाहेक करिब तीन अर्ब रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।
कम्पनीले काम समयमा पूरा गर्न नसके पनि माटोको प्रकार परिवर्तन, स्थानीय अवरोध, डलर मूल्यवृद्धि लगायत कारण देखाउँदै यो दाबी गरेको हो।
सडक विभागले क्षतिपूर्ति दिन अस्वीकार गरेपछि अहिले स्वतन्त्र तीन सदस्यीय समितिले अध्ययन गरिरहेको छ, जसको निर्णय दुवै पक्षले मान्नुपर्नेछ।
सुरुङमार्ग निर्माण १३ अर्ब रुपैयाँमा सम्झौता भएको थियो, तर कोरोना, अवरोध र प्राविधिक समस्याले काम ढिला भएको छ।
परियोजनाको म्याद पटक–पटक बढाएर अब २५ अक्टोबर २०२५ सम्म पुर्याइएको छ।
दसैंमा सुरुङमार्ग खोल्ने तयारी भए पनि कम्पनी र जापानी निकाय जाइकाले अनुमति नदिएकाले अहिले यात्रु सवारीका लागि खोलिएको छैन।
सुरक्षासम्बन्धी कारण र दुर्घटना उद्धार प्रणाली अस्पष्ट भएकाले पनि ढिलाइ भएको बताइएको छ।
अब विभागले अंग्रेजी नयाँ वर्ष (जनवरी १) देखि सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय कम्पनीलाई पाँच वर्षका लागि जिम्मा दिने योजना छ।
झन्डै २८ अर्ब रुपैयाँ लागत रहेको यस परियोजनामा जाइकाले २२ अर्ब रुपैयाँ ऋण दिएको छ।
मुख्य सुरुङ २,६८८ मिटर र रेस्क्यु टनेल २,५५७ मिटर लामो रहेको छ।
Post Views: 137