मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत तुइनखोलामा बारम्बार पहिरो खस्दा सर्वसाधारणले दैनिक सास्ती भोगिरहेका छन्।
सडक खोले पनि लगातार ढुङ्गा खस्ने क्रम रोकिएको छैन र दसैं नजिकिँदै गर्दा यातायात अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन्।
वैकल्पिक रूपमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ।
यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजना बनाउँदै आएको छ र यसमार्गले मुस्ताङदेखि तराईसम्म जोड्ने उद्देश्य राखिएको छ।
साना सवारीका लागि यो बाटो उपयुक्त मानिएको छ। दमौली–खैरेनीटारबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट निस्किने बाटो प्रयोग गर्न सकिने स्थानीय प्रकाशचन्द्र भट्टराईले बताएका छन्।
मुग्लिनदेखि खैरेनीटारसम्म ७० किमि दूरी छ। खैरेनीटार–भीमाद ७ किमि कालोपत्रे, भीमाद–मानपुर ३५ किमि कच्ची सडक, मानपुर–डेढगाउँ ४० किमि कालोपत्रे र डेढगाउँ–नारायणघाट ७० किमि रहेको छ।
मोटरसाइकल चालकहरूले भने दमौली–केशवटार–सुखौरा–धरमपानी हुँदै झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकमा निस्कन सक्ने स्थानीय विजय रानाले बताएका छन्।
मुग्लिन मार्ग अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनको भनाइ छ।