नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा बारम्बार पहिरो खस्दा आपूर्ति प्रणाली अस्तव्यस्त हुने समस्या समाधानका लागि सरकारसँग दीर्घकालीन उपाय निकाल्न आग्रह गरेको छ।
महासंघका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ तुईनखोलामा मंगलबार साँझ लगातार खसेको भीषण सुक्खा पहिरोका कारण सडक अनिश्चितकालका लागि अवरुद्ध भएको छ।
निरन्तर पहिरो खस्नु, सडक भासिनु र उच्च जोखिम बढ्नुले यातायात व्यवसाय संकटमा परेको महासचिव राजेन्द्र बिक्रम बाँनियाले बताए।
गत असोज ३ गते खसेको पहिरो ठूलो कठिनाइपछि हटाइए पनि फेरि मंगलबार ठूलो पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको महासंघले जनाएको छ।
त्यस्तै, धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० जवाडखोलामा खसेको पहिरो करिब १० घण्टापछि मात्र पन्छाइए पनि फेरि अर्को ठूलो पहिरो खस्दा यस क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक रहेको स्पष्ट भएको बताइएको छ।
सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ र कृषिजन्य वस्तुहरू समयमा गन्तव्यसम्म नपुग्दा ठूलो क्षति भएको महासंघको दाबी छ।
कृषिजन्य सामग्री बिग्रनु, ढुवानीमा ढिलाइ हुनु र आपूर्ति प्रणाली अस्तव्यस्त हुँदा जनजीवन प्रभावित भएको तथा चालक र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम थपिएको उल्लेख गरिएको छ।
यस पृष्ठभूमिमा महासंघले अस्थायी रूपमा मात्र पहिरो पन्छाएर समस्या समाधान सम्भव नभएकाले नारायणगढ–मुग्लिन सडक खण्डलाई दीर्घकालीन रूपमा सुरक्षित, भरपर्दो र वैज्ञानिक ढंगले निर्माण गर्न माग गरेको छ।
साथै, वैकल्पिक मार्ग सुधार गरी तत्काल प्रयोगयोग्य बनाउनुपर्ने आवश्यकता पनि महासंघले जोड दिएको छ।