दसैंअघि नागढुंगा सुरुङ सञ्चालन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नागढुंगा–सिस्नेरी सुरुङमार्ग दसैंअघि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन्।

शनिबार मन्त्रालयमा सरोकारवालासँग भएको छलफलपछि उनले दसैं अवधिमा काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीलाई सो सुरुङमार्ग प्रयोग गराइने र दसैंपछि उपत्यकाभित्रिने सवारीलाई प्रवेश गराइने व्यवस्था मिलाइने जानकारी दिए।

यसले यात्रुहरूलाई सहज र सुरक्षित यात्रा दिलाउने र हाल नागढुंगा नाकामा हुने भीड कम गर्ने अपेक्षा गरिएको छ।

सडक विभागका अनुसार सुरुङ सञ्चालनका लागि अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ।

सुरुङमार्ग सञ्चालन भएपछि यात्राको समय बचत मात्र नभई ढुवानी खर्च पनि घट्ने अनुमान गरिएको छ।

यो सुरुङ २,६८८ मिटर (२.६८८ किमी) लम्बाइको छ, जसमा ३.५ मिटर चौडाइका दुईवटा लेन बनाइएका छन्।

दुवैतर्फ पानी निकासका लागि नालीको व्यवस्था गरिएको छ।

निर्माण सम्झौता विसं २०७७ कात्तिकमा जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनसँग भएको थियो।

४२ महिनाको म्याद भए पनि कोरोना महामारी र स्थानीय अवरोधका कारण दुई पटक म्याद थपिएको छ र अहिलेको लक्ष्य सन् २०२५ अक्टोबर २५ सम्मको छ।

यो आयोजनामा करिब २२ अर्ब रुपैयाँ लागत लाग्नेछ, जसमा १६ अर्ब जाइकाबाट ऋण र ६ अर्ब मुआब्जा प्रयोजनका लागि छुट्याइएको छ।

निर्माणमा हाजमा एन्डो संलग्न छ भने परामर्शमा जापानी कम्पनी निप्पोन कोही र तीनवटा नेपाली कम्पनी काम गरिरहेका छन्।

नेपालकै पहिलो आधुनिक प्रविधियुक्त सडक सुरुङमार्ग मानिएको यो आयोजना सम्पन्न भएपछि नागढुंगाको थनाकोट क्षेत्रमा हुने जाम अन्त्य हुने अपेक्षा गरिएको छ।

अहिले करिब २५ मिनेट लाग्ने बाटो सुरुङमार्ग प्रयोग गर्दा २ मिनेटमै पार गर्न सकिने बताइएको छ।

आपतकालीन उद्धार सुरुङ २०८० साउनमा छिचोलिएको थियो भने मुख्य सुरुङ २०८१ वैशाख ३ गते छिचोलिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *