नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनबाट भित्रिएका दशैंका सामग्रीहरू आयात हुन सकेको छैन।
भोटेकोशी गाउँपालिका– २ इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।
जसका कारण व्यवसायीहरूले आयात गरेको दशैंका सामग्रीहरू भित्रन नसकेको हो। तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए।
सडक नखुल्दा दसैं र तिहार लक्षित सामग्री काठमाडौं ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार सात सय कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भूभागमा रोकिँदा व्यापारी मर्कामा परेका छन्।
हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। उनले भने, ‘दशैं तिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन।
तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ।’
वाणिज्य संघले ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग कुरा गरेर चिनियाँ पक्षलाई नेपाल पठाउने कन्टेनर संख्या वृद्धि गर्न अनुरोध गरेको कार्कीले बताए।
खासा भन्सारले कन्टेनर संख्या बढाउने भने पनि नेपालतर्फ तातोपानीमा पहिरोले सडक अवरुद्ध भएकाले आयातमा समस्या देखिएको उनले प्रस्ट्याए। ‘हामीले संख्या बढाऊ त भन्यौँ। तर, नेपालतर्फ नै समस्या छ,’ उनले भने।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले इको पहिरो ठीक हुनासाथ चिनियाँ पक्षले कन्टेनर संख्या बढाउने तयारी गरेको बताए। ‘हामीले खासा भन्सारसँग नियमित कुराकानी गरिरहेका छौँ।
पहिरो पन्छिना साथ दैनिक २० वटासम्म कन्टेनर पठाउने कुरा भएको छ,’ उनले भने। यद्यपि, दैनिक २० वटा पठाउँदा पनि दशैंलक्षित सामान समयमा नआइपुग्ने उनले प्रस्ट्याए। दशैंको १० दिनअघि मालसामान काठमाडौं पुगे मात्रै ती सामग्री उपभोक्तासम्म पुग्न सक्छ।