नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनबाट भित्रिएका दशैंका सामग्रीहरू आयात हुन सकेको छैन।
भोटेकोशी गाउँपालिका– २ इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।
जसका कारण व्यवसायीहरूले आयात गरेको दशैंका सामग्रीहरू भित्रन नसकेको हो।
तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए।
सडक नखुल्दा दसैं र तिहार लक्षित सामग्री काठमाडौं ल्याउन पाइएको छैन। सडक बन्द भएपछि करिब एक हजार सात सय कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भूभागमा रोकिँदा व्यापारी मर्कामा परेका छन्।
हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। उनले भने, ‘दशैं तिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन।
तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ।’
वाणिज्य संघले ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग कुरा गरेर चिनियाँ पक्षलाई नेपाल पठाउने कन्टेनर संख्या वृद्धि गर्न अनुरोध गरेको कार्कीले बताए।
खासा भन्सारले कन्टेनर संख्या बढाउने भने पनि नेपालतर्फ तातोपानीमा पहिरोले सडक अवरुद्ध भएकाले आयातमा समस्या देखिएको उनले प्रस्ट्याए। ‘हामीले संख्या बढाऊ त भन्यौँ। तर, नेपालतर्फ नै समस्या छ,’ उनले भने।
तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले इको पहिरो ठीक हुनासाथ चिनियाँ पक्षले कन्टेनर संख्या बढाउने तयारी गरेको बताए। ‘हामीले खासा भन्सारसँग नियमित कुराकानी गरिरहेका छौँ।
पहिरो पन्छिना साथ दैनिक २० वटासम्म कन्टेनर पठाउने कुरा भएको छ,’ उनले भने। यद्यपि, दैनिक २० वटा पठाउँदा पनि दशैंलक्षित सामान समयमा नआइपुग्ने उनले प्रस्ट्याए।
दशैंको १० दिनअघि मालसामान काठमाडौं पुगे मात्रै ती सामग्री उपभोक्तासम्म पुग्न सक्छ।
तीन साता पूर्ण रुपमा बन्द भएको कोदारी सडक खण्डको पहिरोस्थल गएको बिहीबार चार दिन सञ्चालनमा आएको थियो। आइतबारसम्म खुलेको इको पहिरो त्यसैरात पुनः पहिरो आएपछि बन्द भएको थियो।
आइतबारदेखि हालसम्म इको पहिरो सडक सञ्चालनमा आउन सकेको छैन। पहिरो गएपछि सामग्री बोकेका कन्टेनर तातोपानी क्षेत्रमा रोकिएका थिए।
चीनबाट फलफूलको व्यवसाय गर्दै आएका व्यवसायी शारदा पराजुलीले सडक नखुल्दा आफूहरू साह्रै समस्यामा परेको बताए। ‘हाम्रो फलफूल लोड भएर बसेका कन्टेनर चीनमा अड्किएका छन्।
कतिपय नेपाल नै आइसकेको छ। अब कुहिने स्थित छ,’ पराजुलीले भने। व्यवसायीले कन्टेनरबाट फलफूल बोकाएर पहिरो पार गर्न थालेका छन्।
स्याउ, आँप, अङ्गुर, लसुन, प्याजलगायत कुहिन थालेपछि कन्टेनरबाट पल्टी गरेर सामान भन्सार यार्डमा राखिएको छ।
सडक बन्द हुँदा सीमा क्षेत्रमा रोकिएका स्याउ, नास्पाती, अंगूर, लसुन, प्याजलगायतका फलफूलजन्य वस्तु पहिरो क्षेत्रबाट भरियामार्फत भन्सारसम्म ल्याइएको थियो।
‘कुहिने फलफूलजन्य वस्तुहरू व्यापारीले भरियालाई बोकाएर भन्सार जाँचपासका लागि ल्याएका थिए’, भन्सारका कार्यालय प्रमुख चुडालले भने– ‘ती सामान हामीले जाँचपास गरी पठाइसकेका छौं, तर यो दीर्घकालीन उपाय होइन। सडक नखुलेसम्म दशैंका सामान भित्रन सक्ने देखिंदैन।’
हालसम्म करिब १ सय कन्टेनर बराबर फलफूल भरियालाई बोकाएरै ल्याइएको भन्सार स्रोतले जनाएको छ।
चीनको ल्हासा, सिँगात्से, न्यालाममा मालवस्तु बोकेका कन्टेनर थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए।
उनले कन्टेनर उतै अड्किएक कारण व्यवसायीलाई थप आर्थिक भार परेको बताए। व्यवसायीका सामग्री रोकिएकाले यता ऋण गरेको भार बढेको उनको भनाइ छ।
रसुवाको केरुङ नाका बन्द भएपछि चीनबाट आउने सामान तातोपानी नाका हुँदै आउने गरेका छन्। नेपाल तर्फको इकोमा पहिरो जाँदा सो सडक खण्ड पटक–पटक खुल्ने र बन्द हुने भइरहेको छ।
सो नाका हुँदै सामान आयात गरेका व्यापारीहरू समयमै सामान ल्याउन नसक्दा तनावमा छन्। ‘चीनबाट आयात गरेका सामान बाटोमै अलपत्र छ’, नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले भने– ‘सरकारको लापरवाहीको पराकाष्ठा बाटो २ दिन खुलेर १० दिन बन्द हुने गरेको छ।’
चाडवाडको मुखमा बाटो सुचारु हुन नसक्दा चीनबाट आयात हुने खाद्यान्न तथा लुगाफाटो नेपाली बजारमा आई पुग्न सकेको छैन।
ल्हासादेखि तातोपानी नाकासम्म १ हजार ७ सय भन्दा बढी कन्टेनर नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए।
‘ल्हासा देखि तातोपानी बोर्डरसम्म १ हजार ७ सय सय कन्टेनर लाममा छ’, उनले भने– ‘केरुङमा ६ सय कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन्।’
पहिरो नियन्त्रणका लागि तीन साता अघि संघीय सांसद माधव सापकोटासहित स्थानीय नेताहरू र व्यापारिक संघसंस्थाहरूको पहलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई स्थलगत अवस्था जानकारी गराएपछि उच्चस्तरीय टोली परिचालित गरिएको थियो।
मन्त्रीको निर्देशनमा खटिएको इन्जिनियर शुभराज न्यौपाने नेतृत्वको प्राविधिक टोलीले पहिरो स्थलको निरीक्षणपछि ड्रिलिङ मेसिनमार्फत पहिरोभित्र थुनिएको पानी बाहिर निकाल्ने काम सुरु गरिएको भए पनि निरन्तर बगेको लेदोषीहतको पहिरोका कारण सडक सञ्चालनमा ल्याउन सकिएको छैन।
तातोपानी नजिकैको इको क्षेत्रमा पहिरोले २ सय ५० मिटर सडकमा क्षति पुर्याएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले बताए।
‘यहाँ दैनिक पानी परिरहेको छ, जसका कारण हिलोको बहाव थामिन सकेको छैन’, उनले भने– ‘लेदोसहितको पहिरो थामिए मात्र काम अगाडि बढ्न सक्छ।’
चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडा जस्ता वस्तु आयात हुने गरेको छ। चीनबाट आउने वस्तु विशेषगरी दशैं–तिहारलाई आवश्यक पर्ने वस्तु हुन्।
दशैं–तिहार देखि चिसोलाई आवश्यक पर्ने लुगाकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन्। तर, छिटो सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारीहरू चिन्तित बनेका छन्।
Post Views: 220